२३ वर्षीय अञ्चल नागरिकता पाउनबाट वञ्चित,सिडियो भन्छन्,‘दिन्नौं भनेका छैनौं’

२३ वर्षीय अञ्चल नागरिकता पाउनबाट वञ्चित,सिडियो भन्छन्,‘दिन्नौं भनेका छैनौं’

विदेशी नागरिकले सहजै नागरिकता पाइरहँदा नेपाली नागरिक नागरिकताको हकबाट वञ्चित हुनु दुःखद् कुरा हो । बुवाआमा नेपाली भए पनि प्रमाण नपुग्दा कतिपयले नागरिकता पाउनसकेका छैनन् । त्यसमध्ये एक हुन्, अञ्चल उप्रेती । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ७, आधाभागका उनी उमेरले २३ वर्ष भए । 

१६ वर्षमा पाउनुपर्ने नागरिकताका लागि अझै कति वर्ष कुर्नुपर्ने हो ? भन्ने चिन्ताले पिरोल्न थालेको छ । कक्षा १२ सम्म पढेका उनको प्रहरी बन्ने सपना थियो । नागरिकताका कारण सपना चक्नाचुर भएको छ । आमा सरिताकुमारी लामा उप्रेती वडा नम्बर ८ की हुन् भने बुवा चिन्ताहार उप्रेती वडा नम्बर ७ का । 

अञ्चल आमाको गर्भमै हुँदा बुवाको मृत्यु भयो । बुवा र आमाको विवाह दर्ता बनेको छैन । जसका कारण वडा कार्यालयले मृत्यु दर्तासमेत दिएन । विवाह दर्ता र बुवाको मृत्यु दर्ता प्रमाणपत्र नभएकाले जिल्ला प्रशासन कार्यालय,काभ्रेपलाञ्चोकले नागरिकता नदिएको अञ्चल बताउँछन् । जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्रमा बुवाको नाम चिन्ताहार नै उल्लेख छ ।

‘कसैको नाम लिएकै आधारमा नागरिकता दिने कुरा हुँदैन । भोलिको दिनमा अराजकता फैलिन्छ । कसैले यो मेरो बुवा भनिदिएला अनि नागरिकता दिने ? प्रमाण त हुनुपर्यो । हामीले अरु केही भनेका छैनौं । अदालतले नागरिकता दिनु भनेर आदेश दिएपनि त्यसको प्रक्रिया हुन्छ । त्यहीअनुसार हामीले दिने हो’, 

उनीसँग प्रहरी प्रशासनको लिखित रिपोर्ट पनि छ । तैपनि सिडियो कार्यालयले नागरिकता दिन नमानेको उनको गुनासो छ । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले नागरिकता दिलाउन धेरै कोसिश गरे । बुवा र आमाबारे सबै वडाबासीलाई जानकारी छ । सोबारेमा वडाध्यक्ष रमेश खरेलले सर्जमिन पनि गरेका छन् । नागरिकताका लागि उनी चार वर्षदेखि सिडियो कार्यालय धाइरहेका छन् । 

पटकपटक अनुयविनय गर्दा पनि सिडियो कार्यालयले नसुनेपछि ‘सत्य न्यायको खोजी अभियान’ को शरणमा पुगेका छन् । अभियानका अध्यक्ष अधिवक्ता ध्रुर्वलाल श्रेष्ठ (संयुक्त राष्ट्रसंघबाट निवृत्त कानुन अधिकृत) ले उनलाई नागरिकता दिलाउन पहल गरिरहेका छन् । यता,अञ्चलका सौतेनी आमाको सन्तानले नागरिकता पाइसकेका छन् । अञ्चल चिन्ताहार र सरिताको एक्ला सन्तान हुन् । 

अञ्चल भन्छन्,‘सिडियो कार्यालयले हामीलाई झुलाउने काम मात्र गरेको छ । कहिले विवाह दर्ता ल्याऊ भन्छ,कहिले मृत्यु दर्ताको प्रमाणपत्र । म ममीको पेटमा ६ महिनाको हुँदा बुवाको मृत्यु भयो । ममी र बाबाको विवाह दर्ता छैन । मृत्यु दर्तापनि भएन । अध्यक्षले पनि पटकपटक गएर नागरिकता दिन माग राखिसक्नुभएको छ । चार वर्ष बढी भइसक्यो तर मैले नागरिकता पाएको छैन् ।’

हामीले नागरिकता दिन्नौं भनेका छैनौंः सिडियो 

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई उनलाई नागरिकता दिन्नौं नभनेको बताउँछन् । बुवाको सनाखतका लागि उप्रेती थरका एक जना ल्याउन मात्र भनेको उनको भनाइ छ । आमाको नामबाट हुने भएमा तत्काल नागरिकता दिने उनले बताए । उनका अनुसार सरिताको पहिले गणेश लामा भन्ने व्यक्तिसँग विवाह भएको थियो । 

२०४९ सालमा सरिता र गणेशको विवाह दर्ता भएको र २०७९ सालमा उनीहरुको सम्बन्धविच्छेद भएको हो । सोही बीचमा अञ्चलको जन्म भएकाले चिन्ताहारको नामबाट नागरिकता दिन नसकिएको सेढाईको जिकिर छ । 

भन्छन्,‘उनी आमाको नामबाट नागरिकता लैजान्छन् भने हामी तत्काल दिन्छौं । तर, उप्रेती थरका एक जनाले सनाखत नगरेसम्म उनलाई चिन्ताहारको नामबाट नागरिकता दिन मिल्दैन । उनको आमा र गणेशबीच २०७९ सालमा सम्बन्धविच्छेद भएको देखिन्छ । त्योबीचमा उनको जन्म भएको हो । उनको आमा र चिन्ताहारबीच प्रेम विवाह भएको भन्ने छ । कानुनले प्रेम विवाह त भन्दैन । नाता प्रमाणित हुनुपर्यो ।’

नाम लिएकै भरमा नागरिकता दिन थालेमा अराजकता फैलिने उनको जिकिर छ । ‘कसैको नाम लिएकै आधारमा नागरिकता दिने कुरा हुँदैन । भोलिको दिनमा अराजकता फैलिन्छ । कसैले यो मेरो बुवा भनिदिएला अनि नागरिकता दिने ? प्रमाण त हुनुपर्यो । हामीले अरु केही भनेका छैनौं । अदालतले नागरिकता दिनु भनेर आदेश दिएपनि त्यसको प्रक्रिया हुन्छ । त्यहीअनुसार हामीले दिने हो’, उनले भने ।

टिप्पणीहरू