मति बिग्रिएपछि आफन्तको मरण

मति बिग्रिएपछि आफन्तको मरण
सुन्नुहोस्

भनिन्छ,प्रेम अन्धो हुन्छ । प्रेमको गहिराइमा डुबिसकेपछि व्यक्तिले सही–गलत सबैथोक बिर्सिन्छ । र, कहिलेकाहीं अकल्पनीय दुर्घटनाको रुपसमेत लिने गर्छ । यस्तै यौटा घटना भारतको उत्तर प्रदेशमा घटेको छ । 

झाँसीस्थित रक्साको नहर किनारमा आइतबार एउटा लाश भेटियो । लाशको छेवैमा विषको सानो बट्टा पनि थियो । केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे । तत्काल नहर किनार पुगेर घटनास्थललाई सिल गरेको प्रहरीले अनुसन्धान थाल्यो । 

आखिर लाश कसको हो ? यो प्रश्नले प्रहरीलाई गम्भीर बनाएको थियो । त्यसैक्रममा मृतकले लगाएको प्यान्टभित्र एउटा पर्स भेटियो,जसमा केही कागजातसहित आधार कार्ड थियो । त्यसपछि प्रहरीले पत्ता लगायो,मृतक ४५ बर्षीय केशव जाटव रहेछन् । 

केशवकाे हत्या भएकाे थियो वा आत्महत्या ? यसबारे स्पष्ट हुन प्रहरीले शव परीक्षणकाे लागि पठायाे । पोष्टमार्टम रिपोर्टबाट मृतकको हत्या भएकाे खुल्यो । शुरुमा घाँटी थिचेर गुप्ताङ्गमा बारम्बार प्रहार गरी हत्या भएको पत्ता त लाग्यो तर, कसले र किन यस्तो गर्याे ? हत्यारासम्म पुगेर घटनाको पूर्ण अनुसन्धान गर्नुपर्ने चुनौती थपियो प्रहरीका लागि । 

प्रहरीले विभिन्न समूह बनाएर अनुसन्धानमा खटिने निर्णय गर्याे । एउटा टोली केशवकाे परिवारसम्म पुग्यो भने अर्को अफिस । यसक्रममा पत्ता लाग्याे,सामान्य मजदुरी गर्ने केशव तीन सन्तानका पिता रहेछन् । श्रीमती लक्ष्मी गृहिणी । यति कुरा पत्ता लागे पनि हत्या कसले र किन गर्यो ? यसको भने प्रहरीले सुराक पाएको थिएन । 

यसैक्रममा हिजाे (साेमबार) प्रहरीले केशवका भाइ कालीचरणको बयान लियो । बयानकै क्रममा उनले ‘घरमा कहिलेकाँही भाउजूको ज्वाइँ पनि आउने गरेको' रहस्य खोलिदिए । त्यसपछि प्रहरीको अनुसन्धान सोझियो,लक्ष्मीको बहिनीका श्रीमान कमलेशतिर । 

प्रहरीकाे एउटा टाेली तत्काल कमलेशकाे खाेजीमा निस्कियाे । दिनभरकाे खाेजीपछि साँझ उनी पक्राउ परे । प्रहरीले शंका लागेपछि लक्ष्मी र कमलेशको मोबाइल जफत गरेर कल डिटेल निकाल्याे । त्यसपछि पर्दाफास भयाे- घटनाको वास्तविक कारण । 

नाताले दिदी-सासू र ज्वाइँ पर्ने लक्ष्मी र कमलेश लामो समयदेखि अनैतिक सम्बन्धमा रहेको कुरा प्रहरीले कल डिटेलबाट पुष्टि गरेको छ । केशव कामको लागि दिनभर घर बाहिर हुने र त्यो समयमा कमलेश लक्ष्मीको घरमा जाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हाे । 

यहाँसम्म कि,कमलेशले लक्ष्मीका साना छोराछोरीलाई पैसा दिएर पसलमा सामान किन्न पठाउने र उक्त समयमा यौन सम्बन्ध राख्ने गरेको प्रहरीले जनाएको छ । घटना विवरणअनुसार केशवको हत्या गरेर कोर्ट म्यारिज गर्ने तयारी गरेका यी दुईले त्यसैमुताविक योजना बनाए । गत शुक्रबार कमलेशले केशवलाई मदिरा पार्टीको निम्तो दिए । र, शनिबार साँझ आफ्नो बाइकमा राखेर नहर किनार पुर्याए । 

शुरुमा दुई वटा बियर खाएका केशव नशाले मात्तिन थालिसकेका थिए । त्यही मौका छोपेर कमलेशले तेस्रो बियरमा विष मिसाइदिए । तर, त्यो चाल नपाएका केशवले बियर पिए । त्यसको केही मीनेटमै छट्पटाउन थाले । तर, कमलेशले साेही बखत केशवको घाँटी थिचे । त्यतिमात्र नभएर उनले खुट्टाले बारम्बार गुप्तागंमा प्रहार गरे । र, करिब डेढ घण्टापछि केशवले प्राण त्यागे । 

प्रहरीका अनुसार हत्यापछि घर फर्किएका कमलेशले लक्ष्मीलाई काम सफल भएको भन्दै खुशी बाँडेका थिए ।

टिप्पणीहरू