प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासको आग्रह

प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासको आग्रह
सुन्नुहोस्

बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । केही दिनदेखि जारी कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि दूतावासले विद्यार्थीहरुलाई सतर्क गराएको हो ।

विद्यार्थीहरुलाई अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्किन सूचित गराएको छ । त्यस्तै, कलेज प्रशासनको निर्देशन पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । 

‘बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ’, आज जारी सूचनामा उल्लेख छ । 

कलेज प्रशासनले होस्टलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितिय सचिव योजना बम्जनको फोन नम्बर ८८०१८८०६९१०१३ वा रिया क्षेत्रको फोन नम्बर ८८०१७४५४०७९५९ मा सम्पर्क गर्न अनुरोध गरिएको हो ।

कोटा विरोधी प्रदर्शनमा भएको झडपपछि त्यहाँको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

टिप्पणीहरू