लागुऔषध दुर्व्यसनी रोक्न आमाको साथ खोज्दै प्रहरी
कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनी रोक्न अहिलेसम्मकै नौलो अभियान चलाइने भएको छ । प्रदेश प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनी न्यूनीकरण तथा रोकथामका लागि आमा परिचालन कार्यक्रम ल्याएको हो ।
‘दुर्व्यसनविरुद्ध आमाहरु’ नाम दिइएको सो अभियानका लागि प्रहरी कार्यालयले प्रदेशका सबै पालिकामा आमा समूह बनाएको छ । त्यसपछि उनीहरुलाई अभिमुखीकरण दिइने जनाइएको छ ।
कार्यालयका अनुसार लागुऔषध सेवनपछि पर्ने असर, लक्षण र रोकथामका उपायबारे तालिम दिइनेछ । लागुऔषध सेवन गर्ने युवाको संख्या दिनहुँ बढ्दै गएकाले यस्तो अभियान सञ्चालन गर्न लागेको प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।
'प्रदेशमा लागुऔषध सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । प्रहरीले पक्राउ गरेरमात्र रोकथाम गर्न सम्भव नभएकाले आमाहरुलाई संगठित गरेर परिचालन गर्न लागिएको हो', उनले भने, 'आमाहरु सन्तानको सबैभन्दा नजिक हुन्छन् । उनीहरुले सन्तानको आनाबानीमा आएको फरक सहजै थाहा पाउँछन् । समय समयमा मनोपरामर्श गरेर र अस्पतालमा उपचार गराएर उनीहरुलाई कुलतमुक्त बनाउन सकिन्छ ।’
व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलना र साथीभाइको लहलहैमा लागेर किशोरकिशोरी र युवाहरु लागुऔषधको कुलतमा फस्ने उनको भनाइ छ । उक्त अभियान सञ्चालन गर्न पालिकाहरुले पनि सहयोग गरेको डिआइजी खापुङ बताउँछन् ।
लागुऔषध ओसारपसार र सेवनमा संलग्न हुने तराईका सीमावर्ती जिल्लालाई प्राथमिकता दिएर आमा समूह परिचालन गरिने उनले जानकारी दिए ।
‘लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वास्थ्य, सुःखी परिवार र समुन्नत समाज निर्माण गर्न यो कार्यक्रम निकै प्रभावकारी हुने हाम्रो विश्वास छ । यस अभियानमा हामीले आमासहित प्रहरी, नागरिक समाज, जनप्रतिनिधिलाई पनि सहभागी गराउनेछौं’, खापुङले भने ।
टिप्पणीहरू