बर्दीको दुरुपयोग अचाक्ली बढेपछि...
कुनै पनि पेशाको पहिचान झल्काउन पोशाकले ठूलो अर्थ राख्छ । डाक्टर,नर्स, पाइलट,शिक्षक,सुरक्षा निकाय,निजामती कर्मचारीका निम्ति अलग-अलग पोशाक तोकिएको छ । फौजी संगठनमा त बर्दीको महत्व झन् धेरै हुन्छ ।
तर,यस्ता पोशाक अनाधिकृत प्रयोग हुन थाल्यो भने पेशाप्रतिको सम्मान र पहिचानमै गम्भीर प्रश्न उठ्छ । रोल्पामा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोशाक अनाधिकृत प्रयोग हुन थालेपछि सुरक्षा निकाय तनावमा परेको छ ।
सदरमुकाम लिवाङ,पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर र पश्चिमको घर्तीगाउँलगायत बजार क्षेत्रमा चल्ने सवारी सधानमा सेना र प्रहरीले लगाउने पोशाकवाला कपडाको प्रयोग बढेपछि फौजी संगठन चिन्तामा परेको हो । त्यहाँ चल्ने अटो, जीप र बसका सिट तथा छतमा सेना-प्रहरीको पोशाकसँग मिल्ने कपडाको प्रयोग अत्यधिक बढेको छ । सर्वसाधारणले पनि त्यस्तै पोशाक सिलाएर लगाउने गरेका छन् ।
अटो, जीप र बसका सिट तथा छतमा सेना-प्रहरीको पोशाकसँग मिल्ने कपडाको प्रयोग अत्यधिक बढेको छ । सर्वसाधारणले पनि त्यस्तै पोशाक सिलाएर लगाउने गरेका छन् ।
जसका कारण सुरक्षा निकायले अप्ठेरो महसुस गरेको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए । ‘सवारी धनीहरुले गाडीमा सेना, प्रहरीको कपडा जथाभावी प्रयोग गरेको देखियो,सुरक्षा प्रमुखहरुले पनि अफ्ठ्याराे भो भन्ने गुनासो गर्नुभएको छ’, उनले भने ।
आज जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति नै जारी गरेर यस्तो कार्य नगर्न सचेत गराएको छ । ‘गैरसैनिक तथा सर्वसाधारण व्यक्तिहरुले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोशाक प्रयोग गर्ने गरेको तथा विभिन्न सवारी साधनमा समेत उक्त कपडाको प्रयोग गर्ने गरेको पाइएकोले सो कार्य नगर्न र नगराउनु हुन सम्पुर्णमा जानकारी गराइन्छ’, सिडिओ कार्यालयको आदेश छ ।
अब उप्रान्त कसैले सुरक्षा निकायले प्रयोग गर्ने कपडा प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।
टिप्पणीहरू