प्रेमको बहानामा सुनको ओसारपसार

प्रेमको बहानामा सुनको ओसारपसार
सुन्नुहोस्

‘बिकनी किलर’ नामले परिचित अपराधी चार्ल्स शोभराजले धेरै वर्षअघि ‘नेपालको एयरपोर्टबाट सुन मात्र होइन, हात्ती नै छिराए पनि सुरक्षा संयन्त्रले पत्तो पाउदैन’ भनेका थिए । उनले भनेझैँ एक पाकिस्तानी महिला भ्लगरले नेपालको विमानस्थलबाट हात्ती चाँही होइन, सुन भने सजिलै ल्याएकी छन् ।

पाकिस्तानी तर दुबइमा बस्ने युवती एलिजा जामेली टिकटक र यूटुबमा निकै चर्चित छन् । केही वर्ष पहिले टिकटकको माध्यमबाटै उनको भेट नेपाली युवक आयुष सिंह ठकुरीसँग भेट भयो । आयुष पनि टिकटक र यूटुबमा चर्चित नै हुन् । 

सामाजिक सञ्जालबाट जोडिए दुई जनाबीच प्रेम बस्यो । त्यसपछि एलिजा नेपाल आएर आयुषलाई भेट्न थालिन् । आयुष पनि एलिजालाई भेट्न दुबई पुगेको उनको भ्लगहरुमा देख्न सकिन्छ । 

सुन्दा / हेर्दा यो एउटा रोमान्टिक चलचित्रको कथा जस्तै लाग्छ । तर यतिबेला भने यो जोडी सुन तस्करी गरेको भन्दै विवादमा तानिएका छन् ।

यस्तो छ घटनाक्रम

गतसाता एलिजा आयुषलाई भेट्न दुबईबाट नेपाल आइन् । आउँदा १० तोलाभन्दा बढी सुन पनि ल्याइन् । नेपालको कानुनअनुसार कसैले पनि विदेशबाट नेपाल आउँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामभन्दा बढी सुन ल्याउन पाईंदैन । तर एलिजाले ६ वटा सुनको बाला, एउटा ठूलो सिक्री र केही साना सिक्री गरी १० तोलाभन्दा बढी सुन भन्सार नतिरी ल्याइन् ।

दुबईबाट ल्याएको सुनको भिडियोको दृश्य एलिजाले भ्लगमा राखिन् । उनले यो दृश्य अन्जानमै राखेकी हुन् वा जानेरै ? त्यो भने उनै जानुन् । भ्लगमा दुबईबाट सुन ल्याउँदा सुरूमा डर लागेको तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै चेकजाँच नभएको बताइन् ।

भिडियोमा एलिजाले सुन भित्र्याउन सफल भएकोमा आयुषका परिवारले खुशी मनाउँदै पालैपाले गहना समातेको देख्न सकिन्छ । यत्तिकैमा एलिजाले भनेकी छन्, ‘सुरुमा मलाई डर लागेको थियो, तर मैले यो सबै भित्र राखेकी थिएँ, कसैले थाहा पाएन ।’ 

भित्र भनेको कहाँ ? लगेजभित्र, ह्याण्ड क्यारीभित्र वा आफैले लगाएको कपडाभित्र ? यसबारे भने उनले केही भनेकी छैनन्। 

उता त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भने प्राविधिक समस्याको कारण यस्ता घटना हुने गरेको जनाएको छ । एलिजाले भित्र्याएको सुनबारे आफूलाई केही थाहा नभएको भन्सार कार्यालयका प्रवक्ता गगनबहादुर विकले बताए । उनले जनआस्थासँग भने, ‘केही प्राविधिक समस्या भयो भने यस्तो हुन्छ,  उहाँको पनि चेकजाँच नभएको हुनसक्छ, नत्र त्यसरी उहाँले सुन पास गराउन त नसक्नुपर्ने हो ।’  

त्यसो त समग्रमा हेर्दा एक विदेशी युवती आफ्नो प्रेमी भेट्न नेपाल आएकी हुन् । तर उनले सजिलै भित्राएको सुनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ । 

रोचक त के छ भने, एलिजाका पुराना भिडियोको अध्ययन गर्दा उनी अहिलेसम्म दुबईदेखि नेपाल ५÷६ पटक आवतजावल गरिसकेकी छन् । यो बीचमा उनले कति सुन् भित्राइन् ? यसबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु भएको छ । अहिले एलिजा र आयुषका शुभचिन्तहरुले नै प्रेमको नाममा सुन तस्करी गरेको भन्दै चर्को आलोचना गरिरहेका छन् ।
 

टिप्पणीहरू