सर्वोच्चभित्रै महिला प्रहरीलाई भुत्लाइयो
काठमाडौं जिल्ला अदालतमा अधिवक्ता र प्रहरीबीचको हात हालाहालको विषय सेलाउन नपाउँदै सर्वोच्च अदालतमा सोही प्रकृतिको घटना भएको छ । राजधानीको माइतीघर मण्डलामा रहेको लिंकन ल फर्ममा कार्यरत महिला कर्मचारीले महिला प्रहरीहरुमाथि हातपात गरेको बताइएको छ ।
ड्युटीमा रहेका तीन महिला प्रहरीमाथि हातपात गर्ने बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ की २८ वर्षीया लुमा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्चका बेञ्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनमाथि भएको फैसलाको नक्कल लिने विषयमा आज दिउँसो भनाभन भएको थियो ।
सोही क्रममा उनले ‘तिमीहरुलाई कुट्छु’ लगायतका अपशब्दको प्रयोग गर्दै गाली गर्न थालेपछि हल्लीखल्ली मच्चियो । सर्वोच्चको सुरक्षार्थ खटिएका महिला प्रहरी तत्काल त्यहाँ पुगे । उनीहरुले लुमालाई सम्झाउन खोजे तर झन् आक्रोशमा आइन् । उनले महिला प्रहरीलाई पनि जथाभावी गाली गरिन् । प्रत्यक्षदर्शीका अनुसार उनले एक महिला प्रहरीलाई भुत्लाइन् ।
‘उनले कर्मचारीलाई कुट्छु भनेपछि त्यहाँ हल्ला मच्चियो । बाहिरबाट तीन महिला प्रहरी पुगे । प्रहरीले उनलाई सम्झाउन खोज्यो । उनी झनै आक्रोशित भइन् । एक जना महिला कर्मचारीको कपाल लुछिन् । उनीहरुलाई छुट्याउने क्रममा उनले अन्य दुईलाई पनि कुटेकी हुन् । अवस्था तनावपूर्ण बनेपछि थप सुरक्षाकर्मी बोलाउनुपर्यो’, स्रोतले भन्यो ।
हाल उनलाई प्रहरी वृत्त सिंहदरबारको नियन्त्रणमा राखिएको छ । प्रहरीमाथि अभद्र व्यवहार गरेको कसूरमा उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । गत असार २३ गते काठमाडौं जिल्ला अदालतमा सोही प्रकृतिको घटना भएको थियो । अदालतको गेट नम्बर ३ मा खटिएका प्रहरी जवान जीवन छिनाललाई अधिवक्ता नानी थापाले चड्काएकी हुन् ।
टिप्पणीहरू