विमान दुर्घटनाको कारण डेढ महिनाभित्र पत्ता लगाईंदै
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरिएको छ । आज बसेको क्याबिनेटको आकस्मिक बैठकले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।
आयोग सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी छन् ।
क्यानका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेको आयोगलाई ४५ दिनको म्याद दिइएको छ ।
आज बिहान काठमाडौँबाट पोखरा जान लागेको सौर्यको जहाज त्रिभुवन विमानस्थलबाट उडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो । चालक दलका सदस्य र सौर्यका प्राविधिक १९ जना सवार जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । खतरामुक्त अवस्थामा रहेका भनिएका क्याप्टेन मनिष शाक्यको उपचार जारी छ ।
सरकारले जहाज दुर्घटनामा परी ज्याउन गुमाएकाहरुको सम्झनामा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
टिप्पणीहरू