दुर्घटनाग्रस्त विमानको विगत : चार वर्ष अमेरिका, ११ वर्ष अफ्रिकामा उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमान सन् २०१७ मा कम्पनीले खरिद गरेपछि नेपाल ल्याइएको थियो । सन् २००३ मा निर्मित उक्त जहाज विभिन्न देशका विमान कम्पनीले प्रयोग गरेपछि सौर्य एअरलाइन्सले किनेको बताइन्छ ।
क्यानडामा निर्मित विमान सबैभन्दा पहिले अमेरिकाको एटलान्टिक कस्ट एयरलाइन्सले खरिद गरेको थियो । त्यसको एक वर्षपछि अमेरिकाकै इन्डिपेन्डेन्स एयरले किन्यो । करिब तीन वर्ष उडाएपछि उक्त कम्पनीले नाइजेरियाको एरिक एयरलाई बेचेको देखिन्छ ।
एरिकले पनि एक वर्ष उडान गरेपछि दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एयरलाई बेचियो । अफ्रिकन एयरले करिब १० वर्ष सञ्चालन गरेपछि सन् २०१७ मा सौर्य एयरलाइन्सले खरिद गरेको हो ।
उक्त विमान छ वर्षदेखि काठमाडौंबाट पोखरा, विराटनगर र चन्द्रगढीको उडानमा प्रयोग हुँदै आएको थियो । दुई वर्षअघि पनि जहाजको मर्मत गरिएको थियो । तर पुनः इञ्जिनमा समस्या देखिएपछि पोखरा विमानस्थलको ह्यांगरमा राखेर मर्मत गर्न आज पोखरा लगिँदै थियो । तर, पोखरातर्फ उड्ने तरखरमा काठमाडौं विमानस्थल नजिकै खसेर खरानी भएको छ ।
टिप्पणीहरू