सर्पदंशका घटना बढ्दो, उपचार अभावमा ज्यान गुमाउँदै सर्वसाधारण

सर्पदंशका घटना बढ्दो, उपचार अभावमा ज्यान गुमाउँदै सर्वसाधारण

केही दिनअघि नवलपरासी पश्चिममा सर्पले टोकेर एक युवतीको ज्यान गयो । बर्दघाट नगरपालिका–१४, बस्ने २० वर्षीया सोनिया खनालको निधन भएको हो । बिहान बाहिर शौच गर्न गएको अवस्थामा सर्पले टोकेपछि गम्भीर बिरामी भएकी उनलाई लगत्तै स्थानीय मेडिकल पुर्याइएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात् जिल्ला अस्पताल परासी पुर्याइयो । तर, सोनियाको बाटोमै मृत्यु भएको हो । यसअघि जिल्लाकै प्रतापपुर गाउँपालिका–८, गंगापुर बस्ने ३२ वर्षीया रुना पालले सर्पको टोकाइबाट ज्यान गुमाएकी थिइन् । असार ३० गते बिहान घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो । लगत्तै उपचारार्थ सर्पदंश उपचार केन्द्र त्रिवेणी क्याम्प लगियो । तर, त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल लगिए पनि चिकित्सकले रुनालाई मृत घोषणा गरेको हो ।

एक महिनाअघि दाङमा पनि सर्पदंशका कारण एक जनाको निधन भयो । तुलसीपुर उपमहानगरपालिका–१९, बाँसगढीका ५५ वर्षीया पारु चौधरीको सर्पको टोकाइबाट ज्यान गएको थियो । आफ्नै बारीमा घाँस काट्ने समयमा सर्पले हातमा डसेपछि उनलाई उपचारका निम्ति घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो । यद्यपि, चिकित्सकले जाँच गर्नासाथ उनलाई मृत घोषणा गरेका थिए । 
 
गर्मी र बर्खायामपछि मुलुकभर सर्पदंशका घटना बढ्न थालेका छन् । तीमध्ये यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । हरेक वर्ष गर्मीयाममा घाँस काट्दा, खेल्दा, हिँड्दा वा सुतेकै अवस्थामा समेत सर्पको टोकाइबाट दर्जनौंको संख्यामा सर्वसाधारणको मृत्यु हुने गरेको छ । 

समयमै औषधि उपचार गरिएमा जति विषालु सर्पले टोकेपनि ज्यान बच्न सक्ने चिकित्सकहरु नै बताउँछन् । तर, अहिले दुर्गम जिल्लामा नजिकै स्वास्थ्य संस्था नहुँदा सर्पले डसेर समयमा औषधि उपचार नपाएर धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । 

सर्पदंश : कोशीमा बढी, लुम्बिनीमा मृत्यु धेरै

सर्पदंशका अधिकांश घटना कोशी प्रदेशमा हुने गरिएपनि ज्यान गुमाउनेमा लुम्बिनीका धेरै पाइन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ को जेठ मसान्तसम्म देशभर सर्पदंशका एक सय १७ वटा घटना भएका छन् । 

त्यसमा ३४ जनाको ज्यान गएको पछ । जेठ मसान्तसम्म कोशीमा सर्पदंशका ५० वटा घटना हुँदा त्यसमा दुई जनाको ज्यान गएको छ । तर, लुम्बिनीमा सर्पदंशका २९ वटा घटनाबाट १८ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । 

सोही अवधिमा मधेशमा २३ जनालाई सर्पले डस्दा चार जनाको निधन भएको थियो । बागमतीमा नौ वटा घटनामा पाँच जनाले ज्यान गुमाएका छन् । कर्णालीमा दुई जनालाई सर्पले डसेको थियो जसमा एक जनाको ज्यान गयो ।  सुदूरपश्चिममा चार जनालाई सर्पले टोकेकोमा चारै जनाको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ । 

उक्त अवधिमा गण्डकी प्रदेश र काठमाडौं उपत्यकामा भने सर्पदंशका एउटा पनि घटना भएको पाइएन । आर्थिक वर्ष २०७९/०८० मा भएका सर्पदंशका ९३ वटा घटनामा ३५ जनाले ज्यान गुमाएका हुन् । उक्त अवधिमा पनि सर्पदंशबाट मृत्यु हुनेमा लुम्बिनी प्रदेशका धेरै थिए । 

कोशीमा ३६ जनालाई सर्पले डसेकोमा एक जनाको निधन भयो । लुम्बिनीमा सर्पदंशका २२ वटा घटनामा २२ जनाकै मृत्यु भएको थियो । त्यस्तै, मधेशमा १४ वटा घटनामा दुई जना, बागमतीमा १७ वटा घटनामा छ जना र कर्णाली र सुदूरपश्चिममा दुई÷दुई वटा घटनामा चारै जनाको ज्यान गएको बताइन्छ ।  

धामीझाँक्रीकोमा लैजाने चलन, अस्पतालमा उपकरण अभाव

गत वर्ष साउनको पहिलो सातातिर दाङको शान्तिनगर गाउँपालिका–३, पानेडाँडाका ५० वर्षीय दलबहादुर घर्तीलाई घर बाहिर निस्किँदै गर्दा सर्पले डस्यो । 

तत्काल उपचारका लागि अस्पताल नगई उनी झारफुक गर्न मितछोराकोमा पुगे । त्यसपछि सर्पले टोकेको ठाउँमा खुर्सानी दलियो । बिरामीलाई गाह्रो हुँदै गएपछि राति १ बजे तुलसीपुरको प्रादेशिक अस्पताल पुर्याइयो । तर, अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो । 

त्यसअघि तुलसीपुर उपमहानगरपालिका–१६, की २६ वर्षीया रोशन डाँगीले पनि समयमै उपचार नपाउँदा सर्पको टोकाइबाट ज्यान गुमाएका थिए । २०८० वैशाख ११ गते राति घरमै सुतिरहेको बेला उनलाई विषालु सर्पले डसेको थियो । 

परिवारले भने उनलाई अस्पताल नलगेर रातभर झारफुक गराए । झारफुक गराउँदा गराउँदै अचेत भएपछि उनलाई बिहान मात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो । यद्यपि, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

अहिले पनि ग्रामीण भेगमा सर्पले डस्दा झारफुकको प्रवृत्ति घटेको छैन । उपचारमा अलमल गर्दा धेरैको ज्यान जाने गरेको छ । सर्पले टोक्दा अस्पताल लैजानुको साटो धामीझाँक्रीकोमा लैजाने चलन अझै व्याप्त छ । 

अन्तिम अवस्थामा मात्रै उपचार खोज्दै अस्पताल ल्याइने जानकारहरु बताउँछन् । यसले बिरामीको ज्यान जोखिममा पर्नुका साथै अकालमा मृत्यु समेत हुने गरेको छ । सर्पदंशका अधिकांश घटना दुर्गम जिल्ला र भेगमा हुने गरेको छ । दुर्गममा नजिकको अस्पताल वा स्वास्थ्य चौकी पुग्न पनि घण्टौ हिँड्नुपर्ने बाध्यता छ ।

एकातिर अस्पताल पुग्न समय लाग्ने अर्कोतर्फ अस्पतालमा समेत उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्तिको अभाव । दुर्गमका अस्पतालमा सर्पदंशको उपचारका लागि चाहिने पूर्वाधार र जनशक्ति पर्याप्त नहुँदा बिरामीलाई बाहिर रिफर गर्ने गरिएको छ । यसैले, समयमै उपचार नपाउँदा पनि धेरैले ज्यान गुमाउने गरेका छन् ।

तीनैमध्ये एक हुन्, दाङको तुलसीपुर उपमहानगरपालिका–१२, की १३ वर्षीया दक्षिणा वली । गत वर्षको असारमा राति सर्पले डसेपछि उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगियो । तर, अस्पतालले शरीरमा विष चढिसकेको भन्दै नेपालगञ्जको भेरी अस्पताल रिफर गरिदियो । झण्डै तीन घण्टाको लामो बाटो भएकाले दक्षिणाको अस्पताल पुग्नअघि नै मृत्यु भयो । 

सर्पदंशको जोखिम चैतदेखि भदौसम्म उच्च 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का जुनोटिक शाखा प्रमुख डा.हेमन्त ओझा नेपालमा चैतदेखि भदौसम्म सर्पदंशको जोखिम उच्च रहने बताउँछन् । 

उनका अनुसार सर्पदंशका घटना हिमाली, पहाडी क्षेत्रमाभन्दा तराईमा बढी हुने गरेको छ । पछिल्लो समय मध्यपहाडी क्षेत्रमा पनि सर्पहरु देखिन थालेको छ । तर, सबै सर्प विषालु नहुने उनी बताउँछन् । 

‘नेपालमा करिब ८० प्रजातिका सर्प पाइन्छन् । तीमध्ये १९ देखि २० प्रजातिका सर्प विषालु छन्,’ डा.ओझा भन्छन्, ‘हाम्रो मुलुकमा पाइने सर्पमा विशेषगरी न्युरोटक्सिस र हेमाटोटक्सिस गरी दुई प्रकारका विषालु हुन्छन् ।’

न्युरोटक्सिसले नसा र मांशपेशी तथा हेमाटोटक्सीले रगत पातलो बनाउने समस्या उत्पन्न गराउने उनले जानकारी दिए । त्यस्तै, विषालुमध्ये गोमन, करेत, हरेउ, बाघेजस्ता सर्पले डस्दा मानिसको मृत्यु हुने गर्छ । 

नेपालमा सरकारी अस्पताल बाहेक ९० वटा सर्पदंश उपचार केन्द्र छन् । केही वर्षअघि ईडीसीडी महाशाखाले गरेको अध्ययनमा सर्पदंशबाट वार्षिक २० हजार जना पीडित हुने गरेको पाइएको छ । तर, अहिले पनि सर्पले डसेपछि टोकेको ठाउँमा चुसेर विष निकाल्ने, धामीझाँक्रीतिर लैजाने, डसेको ठाउँ काट्नेजस्ता गलत उपचार प्रवृत्ति कायम छ । डा.ओझाले त्यस्ता कार्य नगर्न सुझाउँदै भने, ‘जुनसुकै सर्पले डसेपनि तत्काल उपचारका निम्ति स्वास्थ्य चौकी वा अस्पताल जानुपर्छ ।’

‘सर्पले टोकेको थाहा हुनासाथ अस्पताल जानु वा लैजानुपर्छ । समयमै उपचार भएमा मानिसको बाँच्ने सम्भावना पनि उच्च रहन्छ,’ उनले भने । सर्पले डसेपछि छालाको रंग रातो हुने, सुन्निएकोजस्तो देखिने, दुख्ने, हातखुट्टा झमझम गर्न थाल्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखा पर्छ । 

यस्तो लक्षण देखिनेबित्तिकै जतिसक्दो छिट्टो उपचारार्थ अस्पताल पुग्न सल्लाह दिएका छन् । विशेषगरी रातको समयमा सर्पदंशका घटना बढी हुने गरेको छ । यसबाट जोगिन राति भुइँमा नसुत्न, कतै जानुपरेमा टर्च लाइट लिएर मात्र जान, जुत्ता वा गमबुट लगाउन, हातखुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट वा कपडा लगाउन उनले सल्लाह दिएका छन् ।

टिप्पणीहरू