बेपत्ता बस र यात्रु फेला नपरेपछि भारतीय गोताखोर टोली फर्क्याे

बेपत्ता बस र यात्रु फेला नपरेपछि भारतीय गोताखोर टोली फर्क्याे

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशुलीमा पुर्याएका दुई वटा बस र हराइरहेका यात्रुको खोजीमा आएको भारतीय टोली आज स्वदेश फर्केको छ । भारतीय विपद् व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारका लागि पठाएको १२ जनाको टोली आज चितवनबाट औपचारिक रुपमा बिदाई गरेर फर्केको बताइएको छ । 

कुनाल तिवारीको कमाण्डमा साउन ५ गते चार जना गोताखोरसहित १२ जनाको टोली आएकै मार्ग रुपन्देहीको सुनौली नाका हुँदै स्वदेश फर्कने बताइएको छ । भारत जानुअघि टोलीले चितवन जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा खोजी कार्यको आफ्नो अनुभव र वास्तविकता जानकारी गराएको थियो ।

उद्धारका लागि आवश्यक सामाग्रीसहित आएको उक्त टोलीले पछिल्लो समय ठूला चुम्बक नदीमा खसालेर बसको खोजी गरेको थियो । टोलीले ल्याएका दुईमध्ये एउटा ठूलो चुम्बक नदीमा हराएको छ । 

त्रिशुलीमा बगेका भनिएका ६५ यात्रुमध्ये २४ जनाको शव फेला परेको छ । हालसम्म १८ शव सनाखत भइसकेको छ । दुर्घटनामा तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका थिए ।

टिप्पणीहरू