‘मण्डप’ बाटै समातिएका धर्मगुरुमाथि अनुसन्धान शुरु
भिआइपीहरुको मृत्युको कामना गर्दै आफ्नो घरमा महायज्ञ आयोजना गर्ने धर्मगुरु पुष्कर खतिवडामाथि अनुसन्धान शुरु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–४, धुम्बाराही बस्ने २८ वर्षीय खतिवडामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर,काठमाडौंले जनाएको छ ।
सेतु खतिवडा र मनमाया खतिवडाको छोरा उनले गत साउन ११ गते आफ्नो फेसबुकमार्फत लाइभ गरी ‘नेताहरुको मुत्युको कामना गरी महायज्ञ हुन गइरहेको’ भन्दै त्यसमा सहभागी हुन आह्वान गरेका थिए ।
उनले धुम्बाराहीस्थित आफ्नो घरमा महायज्ञ राखेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । यज्ञ गरिरहेकै अवस्थामा उनलाई आज बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
खतिवडाको साथबाट एक थान मोबाइल बरामद भएको उनले जानकारी दिए । आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडाले विभिन्न आपत्तिजनक टिकाटिप्पणी गर्दै आएका छन् । केही समयअगाडि उनले एउटा टेलिभिजन अन्तरवार्तामा २०८१ सालभित्र नेपालमा गणतन्त्र समाप्ति भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका थिए ।
त्यस्तै,उनले गणतन्त्र नेपालीको नासो नभएर विदेशीको पासो भएको बताउँदै आएका छन् ।
टिप्पणीहरू