जेलबाट छुट्नासाथ राजधानीका हाइकिङ क्षेत्रमा लुटपाट मच्चाउने स्याङ्तान पक्राउ
राजधानीका हाइकिङ क्षेत्रमा हतियार देखाएर लुटपाट मच्चाउने गिरोहको मुख्य योजनाकारलाई प्रहरीले पक्रेको छ । काठमाडौंस्थित विभिन्न हाइकिङ स्थानमा जाने सर्वसाधारणलाई धारिलो हतियार देखाउनुका साथै हातखुट्टा डोरीले बाँधी लुटपाट गर्दै आएका गिरोहका नाइके धनबहादुर स्याङ्तान समातिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा अस्ति नागार्जुन नगरपालिका–७, बिन्दवासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा उनलाई स्युचाटारबाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट सात तोला ६४ लाल सुनको गरगहना, ४ तोला ७९ लालको चाँदीको ब्रासलेट, नगद १३ हजार चार सय रुपैयाँ र दुई थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
अपराधिक पुष्ठभूमि
मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी स्थायी घर भएका स्याङ्ताङ अपराधिक पुष्ठभूमिको रहेको पाइएको छ । २०६९ जेठ ८ गते ललितपुरको खोकनास्थित एक बाल गृहमा पनि खुकुरी देखाएर उनी लाखौं रकम लुटपाट गरी भागेका थिए ।
खोकनामा उत्तम टमाटाले सञ्चालन गरेको बाल गृहमा स्याङ्ताङसहित तीन जनाले खुकुरी र पेस्तोल देखाउँदै दुई लाख ७६ हजार रुपैयाँ चोरी गर्नुका साथै एक महिलामाथि जबरजस्ती करणी समेत गरेका थिए ।
सोही दुई मुद्दा (डाँका चोरी र जबरजस्ती करणी) मा अदालतबाट दोषी ठहर भई ०६९ जेठ १७ गते नख्खु कारागार चलान भएका स्याङ्ताङसहितका तीन जना केही महिनाअघि मात्र छुटेका हुन् । गत चैत ११ गते मात्र जेलबाट निस्किएका स्याङ्ताङ केही दिनमै अपराधिक क्रियाकलापमा लागेको पाइएको छ ।
प्रहरीका अनुसार उनीसहितको चार जनाको समूहले चैत २९ गतेदेखि काठमाडौंस्थित हाईकिङमा जाने मानिसहरुलाई धारिलो हतियार देखाएर लुटपाट गर्दै आएका थिए । स्याङ्ताङलाई पक्राउ गर्न प्रहरी सफल भएपनि अन्य तीन जना पक्राउ परेका छैनन् । उनीहरुको खोजी कार्य जारी नै रहेको जनाइएको छ ।
टिप्पणीहरू