धादिङमा सवारी दुर्घटना : एक वर्षमा ४४ बिते, ४३६ घाइते
-शंकर श्रेष्ठ
पछिल्लो एक वर्षमा दुर्घटनामा परेर धादिङमा ४४ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा चार सय ३६ जना घाइते भएका छन् । मृतक र घाइते दुबैमा पुरुषको संख्या बढी देखिन्छ । आव २०७६/०७७ मा सानाठूला गरी चार सय ५८ वटा दुुर्घटना भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ९८ वटा दुर्घटना भएको छ । तथ्याङ्क अनुसार पाँच वर्ष पहिलेको दुर्घटना संख्याको तुलनामा गत वर्ष करिब ५७ प्रतिशतले कम भएको हो ।
आव २०७६/०७७ मा २७ वटा दुर्घटनाको मुद्दा दर्ता भएको र चार सय ३१ वटा दुर्घटना मिलापत्रमा टुङ्याइएको थियो । ती घटनाका मृतक र घाइते संख्या प्रहरीसँग पनि छैन । आव २०७७/०७८ मा भन्दा आव २०८०/०८१ मा मृतकको संख्या २५ प्रतिशतले कमी आएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पछिल्लो दुई वर्षमा मृत्यु हुनेको संख्या उस्तै छ । आव २०७७/७८ मा ५९ जना, २०७८/७९ मा ७९ जना, २०७९/८० मा ४३ जना र २०८०/८१ मा ४४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ठूला तथा मझौला सवारीको संख्यामा कमी आएको छ । तर, दुर्घटनामा साना सवारीको संख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको देखिँदैन । आव २०७६/०७७ मा तीन सय ३७ वटा ठूला सवारी, एक सय ८३ वटा मझौला सवारी र दुई सय २८ वटा साना सवारी साधन दुर्घटनामा परेका थिए । आव २०८०/०८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र दुई सय १७ वटा साना सवारी साधन दुर्घटनामा परे । ठूला सवारी साधनको दाँजोमा साना सवारी तीव्र गतिमा हुईंकिने र बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाई छ ।
चार वर्षमा भएको एक हजार चार सय एक दुर्घटनाबाट दुई सय २५ जनाको मृत्युभएको छ भने २५ सय सात जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा छ । सडक सुरक्षामा प्रहरीको सक्रियता बढेकै कारण दुर्घटनाको संख्यामा उल्लेख्य रुपले कमी आएको उनी दाबी गर्छन् ।
‘पछिल्ला वर्षहरुमा सवारी साधनको चाप अध्यधिक बढ्दो भएपनि दुर्घटना संख्या घट्दो क्रममा देखिन्छ । यसलाई हामीले उपलब्धीको रुपमा लिएका छौं’, प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘सवारी साधनको चाप बढेसँगै हुनसक्ने सम्भावित दुर्घटनालाई कम गराउनु नै ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धी हो ।’
धादिङमा गत फागुन २३ गते गजुरी गाउँपालिका–५, घाटबेसीमा भएको यात्रुबस दुर्घटनामा १२ जना र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दुर्घटनामा नौ जना गरी दुई वटा दुर्घटनामा मात्रै २१ जनाको मृत्यु भएको थियो । ती दुर्घटना नै मानवीय क्षति बढी भएको गत वर्षका सबैभन्दा ठूला दुुर्घटना हुन् ।
टिप्पणीहरू