प्रहरी जवानद्वारा पटक पटक ‘बलात्कृत’ युवती माइतीघरको सडक छेउमा

प्रहरी जवानद्वारा पटक पटक ‘बलात्कृत’ युवती माइतीघरको सडक छेउमा

बलात्कार आरोपितलाई अदालतले जोगाउन खोजेको भन्दै आन्दोलनरत जाजरकोटकी सराकुमारी शाही लगातार धर्नामा बसेकी छन् । गत असार २१ गतेदेखि राजधानीको माइतीघर मण्डलामा एकल प्रदर्शनरत उनले आज २५ औं दिन धर्नालाई निरन्तरता दिएकी हुन् ।

विवाहको प्रलोभन देखाउँदै प्रहरी जवान भुपेन्द्रसिंह ठगुन्नाले जबरजस्ती करणी गरेको उनको आरोप छ । जुनिचाँदी गाउँपालिका–९ की सराकुमारी अध्ययनको सिलसिलामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा बस्दै आएकी थिइन् । 

सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत उनको टिकटकमार्फत भुपेन्द्रसँग चिनजान भएको बताइन्छ । त्यतिबेला भुपेन्द्रको ‘पोस्टिङ्ग’ सुर्खेतमै भएकाले उनीहरुको भौतिकरुपमा पनि भेटघाट हुन थाल्यो । प्रेम सम्बन्धमा रहेका दुबै ‘लिभिङ टुगेदर’ मा बसे । पछि भुपेन्द्र सरुवा भएकाले सर्वोच्च अदालतमा आए । सराकुमारी पनि निम्न माध्यमिक तहसम्म पढाउने शिक्षक लाइसेन्सको परीक्षा दिन काठमाडौं आइन् ।

सराकुमारीका अनुसार त्यसपछि उनी भुपेन्द्रकै कोठामा बसिन् । सोक्रममा भूपेन्द्रले ‘विवाह गर्छु’ भन्दै पटक–पटक शारीरिक सम्बन्ध राखेको र आफू गर्भवती भएको उनको भनाइ छ । तर, त्यसपछि उनीहरुको सम्बन्ध राम्रो हुन सकेन । भुपेन्द्रको कुटाइबाट आफ्नो गर्भ खेर गएको सराकुमारीको आरोप छ । 

आफूसँग शारीरिक सम्बन्ध राखेर छाडिदिएपछि सराकुमारीले सुर्खेत जिल्ला अदालतमा ‘बलात्कार’ मुद्दा दायर गरिन् । न्यायाधीश मनोजकुमार श्रेष्ठको इजलासले भुपेन्द्रलाई धरौटीमा रिहा गर्न आदेश दियो । जिल्लाको आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा रिट दायर गरिन् । उच्चले पनि भुपेन्द्रलाई पुर्पक्षका लागि थुनामा पठाउन नमिल्ने भन्दै मिसिल सर्वोच्च पठाएको छ ।

शाहीले ‘प्रेम सम्बन्धमा पारी विवाहको आश्वासन दिई बलात्कार गर्ने निलम्बित प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नालाई कारबाही गर’, ‘पटकपटक भ्रुण हत्या गराई म मेरो बच्चामाथि अन्याय गर्ने अपराधीलाई कानुनबमोजिम सजाय गर’, ‘अदालतको इजलासमा नै म पीडितमाथि अपशब्द प्रयोग र धम्की दिने सुर्खेत जिल्ला अदालतको न्यायाधीश मनोजकुमार श्रेष्ठलाई अनुसन्धानगरी कारबाही गर’, लगायत माग राखेकी छन् ।

यो पनि...

प्रहरी जवानबाट ‘बलात्कृत’ युवती दुई सातादेखि धर्नामा

टिप्पणीहरू