कथा वाचिकाबारे चर्चा, महिलाहरूद्वारा अंगरक्षकबाटै अंगको सुरक्षामा खतराको आशंका
धर्मबारे सबै मानिसको सोच र चेतना एउटै हुँदैन । धर्मलाई अफिम मान्ने समाज पनि यहिँ छ, अनि धर्मप्रति गहिरो आस्था मान्ने पनि ठूलो समाज पनि हाम्रै वरपर छ । कतिपयले धर्म र विज्ञानलाई पारस्परिक सम्बन्धको रुपमा लिने गरेका छन् ।
पछिल्लो केही सातादेखि काठमाडौंमा हिन्दू धर्मसँग जोडिएकी एउटी २३ वर्षीया युवती समाजिक सञ्जालमा चर्चित देखिन्छन् । प्रतिभा पराजुली उर्फ देवी प्रतिभाको बारेमा अनेक चर्चा गरिएको छ ।
उनी भारतमा निकै प्रख्यात अध्यात्म प्रवचनमा तेस्रो नम्बरमा चिनिन्छन् । वाचक वाचिकाको वरीयता कसरी मापन गरिन्छ ? यसको मापदण्ड के हो ? त्योबारे भारतकै धर्मगुरुहरु जानुन् । तर उनी नेपाल आएपछि कतिपयले आलोचना गरेका छन् भने धेरैले प्रशंसा ।
उनको वरपर एक दर्जन अंगरक्षक, महंगो गाडीको सवारी, उच्चस्तरीय खानपिनको सुविधालगायतका फोटो÷भिडियो भाइरल छन् । उनले कथा वाचन गर्दा वरपरको सुरक्षा व्यवस्था निकै कडा देखिन्छ ।
मानवसेवा फाउण्डेसनले पशुपति क्षेत्रमा आयोजना गरेको एक महिने कोटीहोममा कथावाचक रुपमा उनी नेपाल आएकी हुन् । कोटीहोममा चल्तीकै कथावाचकहरु राधिका दासी, दीनबन्धु पोखरेललगायत पनि छन् । यो वर्ष अरुलाई पछि पार्दै प्रतिभाको चर्चा एकछत्र देखिन्छ । यसमा उनको सुन्दरता, आवाज र प्रस्तुतीलाई नजरअन्दाज गर्न नमिल्ने बताइन्छ ।
कथावाचनकै क्रममा प्रतिभाले दिएको एउटा अभिव्यक्ति यतिबेला विवादमा छ । उनले डिभोर्स अर्थात् श्रीमान–श्रीमतीबीचको सम्बन्ध विच्छेदबारे दिएको अभिव्यक्ति विवादित बनेको हो । पति बेरोजगार, जँड्याहा वा जे जस्तो भए पनि पत्नीको निम्ति सधैँ भगवान हुने प्रतिभाको दावी छ । पतिको जुनसुकै व्यवहार सहनु नै एउटा पत्नीको धर्म रहेको उनको तर्क छ । तर प्रतिभाको यो तर्कसँग सहमत नहुनेहरुले सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया जनाएका छन् ।
महिला अधिकारकर्मी तथा अधिवक्ता अमृता लम्सालले कुनै पनि धर्ममा महिलालाई हिंसा सहनुपर्ने नलेखिएको तर्क गर्दै प्रतिभाको खण्डन गरेकी छन् । भन्छिन्, ‘वर्षौँको वकालतले अलिकति सुधार होला कि भनेर आशा गर्न पाएको हुन्न लगत्तै उहॉजस्ताको महानवाणीले थचक्कै बसाइदिन्छ ! सन्दर्भः हिंसा सहनुपर्छ ।’
त्यस्तै महिला अधिकारकर्मी सिभा आभासले पनि कुनै पनि महिलालाई पतिको अन्याय सहेर सम्बन्ध टिकाइराख्न बाध्य नहुने बताएकी छन् । यौन कुण्ठाले ग्रसित हुनेहरुले नै महिलालाई अन्याय सहन प्रेरित गर्ने उनको तर्क छ । उनले भनेकी छन्, ‘धर्मगुरूका फलोअर्सलाई हेर्दा सहजै अनुमान लगाउन सकिन्छ समाजमा सामूहिक वर्ग यौनकुण्ठाले ग्रसित छ । यसरी कुण्ठित वर्ग सजिलो र स्वीकार्य बाटो क्याथरसिस पाइरहेका छन् । अर्को कुरा द्रव्य तिर्खा पनि प्रचुर छ । त्यो पनि भेटीबाट पाइरहेको छ ।’
यतिबेला प्रतिभाको अभिव्यक्ति मात्रै नभएर उनको पारिश्रमिक पनि चर्चामा छ । उनले पशुपतिमा कथा वाचन गरेको प्रतिदिन ५० लाख भारु अर्थाते ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ । यद्यपि, यसबारे भने आयोजक संस्थाले जानकारी दिएको छैन । केही महिलाले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रियामा अंग रक्षाका निम्ति राखिएका अंगरक्षकहरुबाटै कथा वाचिकाको अंगको सुरक्षा नहुने ठोकुवा गरिदिएका छन् ।
टिप्पणीहरू