रौतहटबाट इधरका माल उधर

रौतहटबाट इधरका माल उधर
सुन्नुहोस्

तराईका अन्य जिल्ला झैँ रौतहटका विभिन्न नाकामा पछिल्लो समय तस्करी ह्वात्तै बढेको बताउन थालिएको छ । ठूला-साना नाकाबाट खुलेआम तस्करीमा गौर भन्सार कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालय रौतहटको संलग्नता रहेको गम्भीर आरोपसमेत लगाइएको छ ।

ती नाकाबाट भएको सुनदेखि नुनसम्मको तस्करीलाई सीमानामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नदेखेझैँ गरेपछि उक्त अवस्था उत्पन्न भएको हो । भारतीय सीमावर्ती नाकाहरू गौर,बेल बिछुवा,औरैया, रामपुरखाप,वनकुललगायतबाट पछिल्लो समय तीव्ररूपमा तस्करी बढेको वनकुलका स्थानीयले समेत बताएका छन् ।

सीमा क्षेत्रबाट यदाकदा पोके तस्करका केही सामान बरामद गरिएपनि ठूला परिमाणका सामान निर्वाध नेपाल भित्रिने गरेको बताइन्छ । ती नाकाबाट भारततर्फ चिनियाँ सामान, गाई–गोरु, मदिरा, सुन जाने गरेको छ । भारतबाट विभिन्न सामानहरू ल्याइन्छ । आरोपमाझैँ तस्करीलाई छुट दिइएको अवस्थामा दिनहुँ लाखौं राजश्व गुम्नु निश्चित हो ।

यता प्रहरी प्रशासनले रौतहट जिल्लाबाट तस्करी नभएको दाबी गरेको छ । तर केही समयअघि चामलको बिल देखाउँदै करिब एक करोडको कपडा भित्र्याएर काठमाडौं पुर्याइएपछि आन्तरिक राजस्व कार्यालयले बरामद गरेको थियो । सोही प्रकरणपछि रौतहटबाट तस्करी हुने गरेको रहस्य खुलेको बताइन्छ ।  

पछिल्लो समय प्रहरीले किसानले भारतबाट धानबालीका लागि ल्याएको मलखाद बरामद गरेका छन् । तर आफूहरुको मल बरामद गरेर तस्करलाई छुट दिएको जनाउँदै किसानहरु आक्रोशित भएका छन् ।

उता सर्लाहीको बलरा नाकाबाट तस्करी बढ्न थालेको आरोप छ । त्यहाँ पनि नेपाल प्रहरी र सशस्त्रको स्थानीय युनिटले आँखा चिम्लेको बताइन्छ । तर नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेलले सर्लाहीका नाकाबाट त्यस्तो नभएको जानकारी दिए । उनले भने, ‘तस्करी तथा सेटिङमा युनिट प्रमुख वा जुनसुकै प्रहरी संलग्न भए झिटीगुन्टा तयार पारेर बस्न  आदेश दिएको छु ।’ 

उक्त नाकाबाट भारततर्फ स्याउ र मकै बढी मात्रामा गएको पाइन्छ भने  भारतबाट धान, प्याज, कपडा, चिनी, किराना सामान ल्याइन्छ । उक्त नाकामा सेटिङको काम नवीन चौधरीले गर्दै आएको बताउने स्रोतले भन्यो, ‘उनी कवाडीको धन्दा गर्छन् । १२ चक्के ट्रकमा कवाडीको सामान भारत पुगेर फर्कंदा अवैध कपडा र पटाका ल्याइन्छ ।’

केही समयअघि भारतीय भन्सारले चौधरीको सामान बोकेको ट्रकमा छापा मारेको बताइन्छ । उनलाई राजेश ठाकुर, परमहंश, सन्तोष साह, श्यामले साथ दिएको स्थानीयको भनाइ छ । 

केही महिनाअघि राजश्व अनुसन्धान इकाई कार्यालयले सन्तोष डिलरमा छापा मारेर करोडौंको तस्करीको सामान बरामद गरेको थियो । त्यो डिलर उनैका हितैषीमध्येका सन्तोष साहको हो । बलरा थानामा रहेका सई दिपेन्द्र मल्ल मल्ललाई समेत विभिन्न घटनामा जोडेर चर्चा गर्न थालिएको उल्लेख गर्दै स्रोत भन्छ, ‘दरबन्दी पर्सा भए पनि उनी प्रदेशबाट काज मिलाएर सोझै बलरा हाजिर भएपछि आशंकामा बल मिलेको हो ।

टिप्पणीहरू