राजमार्गमा बासी खाना र चर्को मूल्य तिर्न यात्रु सँधै बाध्य
राजमार्गका होटल तथा रेष्टुरेन्टमा बासी खाना खुवाउने र चर्को मूल्य लिने गरेको यात्रुको गुनासो धेरै वर्षदेखि व्याप्त छ । सोही क्रममा धादिङको थाक्रे गाउँपालिका–८, चारकिलोमा सञ्चालित न्यू रिया होटल अनुगमनको क्रममा कारबाहीमा परेको छ ।
उपभोक्तालाई सडेगलेको खानेकुरा बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । गत शनिबार एक ग्राहकले उक्त होटलका समोसा, तरकारीलगायतका खानेकुरा गन्हाएको भन्दै सिडियो कार्यालयमा गुनासो गरेका थिए । लगत्तै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको निर्देशनमा अनुगमन टोलीसहित प्रहरी होटल पुगेपछि गुनासोमा यथार्थ पाइएको हो ।
अघिल्लो दिन नै तयार पारिएको खानेकुरा उपभोक्तालाई बिक्री गरेको बताइन्छ । होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा दुई लाख जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक सिडियो युवराज अर्यालले जानकारी दिए ।
‘शनिबार बिहान एक जना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गर्नुभयो । त्यसलगत्तै हाम्रो टोली होटल पुग्यो । फ्रिजमा राखेको खानेकुरासमेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौं’, उनले भने, ‘पछि उनले बिहान बिक्री गरेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकोले गन्ध आएको स्वीकार गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना गरेका हौं ।’
पृथ्वी राजमार्गका यात्रु लक्षित उक्त होटलले धादिङ–काठमाण्डौं चल्ने सवारीसाधनका यात्रुहरुलाई समेत खाजाखाना खुवाउँदै आएको थियो । समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोटको शिवपुरी गाउँपालिका–८, का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने सर्तमा छोडिएको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव एवम् उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतमले बताए ।
निर्धारित समयमा जरिवाना दाखिला नगरे होटल सञ्चालन गर्न नपाइने चेतावनी छ । कारबाहीमा परेको रिया होटललाई गत असोजमा मात्र जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बाहिरी सरसफाईमा ध्यान दिन, कामदारलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको थियो । विगतका अनुगमनमा दिइएको निर्देशन पनि पालना नगरेको पाइएको गौतमले बताए ।
पछिल्लो समय धादिङमा प्रशासन, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले होटल तथा पसलहरुको अनुगमनमा तीव्रता दिएको छ । यसअघि पनि सामानको तोकिएकोभन्दा बढी मूल्य लिने होटल तथा पसललाई कालोबजारी कसुरमा एक लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।
टिप्पणीहरू