विमान दुर्घटनापछि भिनाजु र सालोमाथि प्रश्नचिन्ह
सौर्य एअरलाइन्सको गत साता भएको विमान दुर्घटनाको तथ्य पत्ता लगाउन गठित छानबिन समिति विवादमा तानिएको छ । मर्मतका लागि गत बुधबार काठमाडौंबाट पोखरा जान लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त हुँदा १८ जनाको निधन भएको थियो । सरकारले सोही दिन गठन गरेको पाँच सदस्यीय छानबिन समितिको संयोजकमा रतिशचन्द्र लाल सुमनलाई राखिएको छ ।
उनी नागरिक उड्डयन प्राधिकरण (क्यान) का भूतपूर्व महानिर्देशक हुन् । त्यसअघि विमानस्थलमा पटक पटक डिजिएम र जिएमको भूमिकामा थिए । उनैको सालो प्रभाकरचन्द्र मल्लिक यतिखेर क्यानको सेफ्टी विभागमा दशौं तहको उपनिर्देशक तहमा कार्यरत छन् । विमान दुर्घटनाको प्रारम्भिक अनुमानमा क्यानको लापरबाहीलाई प्रमुख ठानिएको छ । मुख्य कारण छानबिनपछि थाहा हुनेछ । मर्मतका लागि लैजान लागिएको विमानमा असम्बन्धित कर्मचारी र तिनका परिवार राखिएपछि स्वयम् एअरलाइन्स र क्यान विवादमा तानिएका छन् ।
यसबारे सदनमा चर्को आवाज उठाइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विमान दुर्घटनामा छानबिन गर्नुपर्ने पहिलो व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाएर समितिको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिले नियामक निकायका प्रमुख र सुरक्षा प्रमुख तानिने प्रचलित नियम हो । तर उक्त निकायको सुरक्षा विभागमा उपनिर्देशकका भिनाजुलाई छानबिन समितिको संयोजक बनाइएपछि अनेक आशंका गरिएको छ । सुमनलाई यसअघि पनि पटक–पटक विमान दुर्घटना छानबिनको जिम्मेवारी दिइएको थियो ।
क्यान स्रोत भन्छ, ‘महानिर्देशक प्रदिप अधिकारीले हतारमा सुमनको नाम पर्यटनमन्त्रीमार्फत् क्याबिनेटमा पुर्याए । रतिशचन्द्र विगतमा साला, सालीलगायतलाई विभिन्न विमान कम्पनीमा जागिर खुवाएको आरोपमा मुछिएका थिए । सोही क्रममा सालो प्रभाकरचन्द्र मल्लिकलाई डिजी हुँदा प्रश्नपत्र लिक गराएर पास गराएको आरोप खेपे । प्रभाकर त्यसअघि सीता एअरमा काम गर्थे ।’
यता रतिशचन्द्र अहिले पनि अल्टिच्युड एअर र मर्करी नामक कम्पनीमा करारमा आबद्ध रहेको स्रोतको दाबी छ । डिजी भइसकेको मान्छेले दुई ठाउँको निजी कम्पनीमा काम गरेकाले पनि आशंका बढाइदिएको छ । सालो मल्लिक क्यानको फ्लाइट सेफ्टीमा कार्यरत छन् । उनीमाथि अन्य विमान कम्पनीको सेफ्टी अडिट राम्रोसँग नगरेको ‘चार्ज’ बारम्बार लाग्दै आएको छ ।
टिप्पणीहरू