मेलामा चिनजान, हाेटलमा सामूहिक बलात्कार
बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २७ वर्षीय तिलकराज गिरी 'ह्याप्पी',३७ वर्षका शिखर भण्डारी र २३ वर्षे रोमन गोसाइले १३ वर्षीया बालिकालाई हिजो साँझ सात बजेतिर चौरजहारीकै एक होटलमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बखतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार ती बालिकाको बुबा-आमा रोजगारको लागि भारतमा छन् । उनी भने आफन्तसँग बस्दै आएकी थिइन् ।
दुई-तीन महिनाअघि एउटा मेलामा ती बालिका र पक्राउ परेका ह्याप्पीको चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘ह्याप्पी भन्ने केटो र बालिका दुई/तीन महिनाअघि एउटा मेलामा भेट भएका रहेछन्’, इन्सपेन्टर शाहीले जनआस्थासँग भने,‘उसैले हिजो दुई जनासँग भेट गराएको देखियो ।’
ह्याप्पीले ती बालिकालाई खाजा खान बोलाएका थिए । त्यसपछि रोमनले ‘राम्रो खाजा पाइने ठाउँमा जाउँ’ भन्दै होटलमा पुर्याएको प्रहरीले जनाएको छ । तीन जना युवाले बालिकालाई यौटा रुममा लगेको देखेपछि शंका मानेका होटल कर्मचारीबाट प्रहरीसम्म खबर पुगेको र उनीहरु समातिएको बुझिएको छ ।
‘बालिकालाई साँझ ७ बजेतिर होटलमा पुर्याएका रहेछन्,बजार सानो छ, एक-कान, दुई-कान हुँदै हामीलाई राती १० बजे खबर आइपुग्यो’,इन्सपेक्टर शाहीले थपे ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू