आकाशमा गति छाड्दा पुलिसको खोर

आकाशमा गति छाड्दा पुलिसको खोर

काठमाडौँबाट धनगढीतर्फ उडेको एउटा विमानकी परिचारिकाको नियतवशः अंग छुन खोज्ने एकजना यात्रु प्रहरी हिरासतमा पुगेका छन् । उनी श्री एयरलाइन्सको उडिरहेको विमानभित्र एयर होस्टेसलाई जिस्काउँदै दुर्व्यवहार गर्ने यात्रु हुन् । 

कैलालीको गोदावरी नगरपालिका–१  निवासी  शिवराज ओझाले हिजो अपरान्ह उक्त एयरलाइन्सको उडान नम्बर २२५ विमानकी परिचारिकालाई आकाशमा पुग्नेबित्तिक्कै जिस्काउन थालेका थिए । विमानको अघिल्लो भागमा परिचारिकाको सिटसँगै बसेका उनले अभद्र व्यवहार गरेपछि धनगढी विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विमान कम्पनीका धनगढी म्यानेजर गजेन्द्र शाहीका अनुसार उनले अनेक हर्कत गरेपछि पहिले परिचारिकाले राम्रोसँग सम्झाएकी थिइन् । परिचारिकाले यात्रुलाई  पानी,जुस दिन थालेपछि उनको अगाडि र पछाडिबाट गोडा र तल्लो भागमा छुन थालियो । 

एसपी पदम विष्टले भने, हामीले जहाजभित्र किन त्यस्तो गरेको ? भनेर सोध्यौं । तर उसले मलाई मन पर्यो, जिस्काउन मन लाग्यो, जिस्काएँ पो भन्छ ।’

ओझाको अस्वाभाविक हर्कत बढ्दै गएपछि एयर होस्टेसले जहाज उडाइरहेका पाइलट सुमन घिमिरेलाई जानकारी गराएको शाही बताउँछन् । लगत्तै पाइलट घिमिरेले ओझाको हर्कतबारे धनगढीस्थित विमानस्थल टावरलाई बताएका थिए । साँझ पौने ६ बजे विमान अवतरण गर्ने क्रममा प्रहरीको टोली ओझालाई नियन्त्रणमा लिन विमानको ढोकैमा पुगेको बताइन्छ । 

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । हिजोको हर्कतबारे उनले कुनै पश्चाताप नगरेको उल्लेख गर्दै एसपी पदम विष्टले भने, हामीले जहाजभित्र किन त्यस्तो गरेको ? भनेर सोध्यौं । तर उसले मलाई मन पर्यो, जिस्काउन मन लाग्यो, जिस्काएँ पो भन्छ ।’

विमान कम्पनीले उक्त घटनाबारे नागरिक उड्डयन प्राधिकरणसमक्ष कारबाहीको माग गरेको छ । प्राधिकरणले ओझामाथि आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको विष्टले बताए । उनीमाथि अभद्र व्यवहारको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ । 

उमेर २० वर्ष बताएका ओझाको नागरिकतामा उल्लेखित जन्ममिति अनुसार उनी अहिले १७ वर्ष पाँच महिना पुगेका छन्  ।

टिप्पणीहरू