एसएसपी विनोदले जापानमै समाते मानव तस्करलाई

एसएसपी विनोदले जापानमै समाते मानव तस्करलाई

फर्जी कागजातका आधारमा दुई दर्जन नेपाली नागरिकलाई पर्यटन भिसामा जापान पुर्याएका समीर लामालाई अस्ति अपरान्ह काठमाडौं ल्याइएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिक्कै प्रहरीले हत्कडी लगाएको थियो । 

नारिताबाट नेपाल वायुसेवाको उडानमा ल्याइएका समीरलाई काठमाडौंमा हत्कडी लगाउनुअघिको घटनाक्रमबारे प्रहरीले हालसम्म केही बताएको छैन । जापान घुम्न गएका एसएसपी विनोद घिमिरेको व्यक्तिगत पहलमा लामालाई यता ल्याइएको हो ।

लामालाई नेपाल पठाउन एनआरएनए जापानले शनिबारको नारिता– काठमाडौंको उडानमा आवश्यक व्यवस्था गरेको थियो । बोर्डिंग पाससमेत लिइसकेको अवस्थामा उनले नेपाल नफर्की विमानस्थलभित्रैबाट भागेर लुकिछिपी बस्ने प्रयत्न गरेका थिए । 

लामा पक्राउबारे काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक जना अधिकृत भन्छन्   ‘यहाँबाट २३ जनालाई १७ लाखको दरले फर्जी कागजातका आधारमा जापान पुर्याइएको रहेछ । त्यहाँको एनआरएनएका पदाधिकारीको मिलेमतोमा नेपालीलाई जापान पुर्याएको आरोपपछि उनीहरुले छानबिन र अनुसन्धान गर्दा फर्जी कागजात प्रयोग भएको भेट्टाएका रहेछन् ।

ओशाकामा रहेका लामाबारे धेरै कुरा सुनेपछि जापानमा घुमिरहेकै अवस्थामा विशेष चासो दिइयो । एसएसपी सा"बसँग नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी पनि हुनुहुन्थ्यो । त्यसबीचमा एनआरएनए जापानका अध्यक्ष नवीन घिमिरेले लामालाई टोकियो ल्याएर पत्रकार सम्मेलन गरे ।" 

उक्त घटनामा जापान सरकार,प्रहरीले केही नगर्ने भएपछि लामालाई याकुजा समूहले नियन्त्रणमा लिएको त्यहाँका नेपालीले बताए । उनलाई जसरी पनि नेपाल पठाउन खोजिएपछि घिमिरेले उतैबाट मानव बेचबिखन ब्यूरोमा सम्पर्क गरे । त्यसबीच २७ जुलाईका दिन नेपाल जान भनेर हिँडेका लामा नारिता विमानस्थलबाट एकाएक भागे र भोलिपल्ट पक्राउ परे । 

भोलिपल्ट एसएसपीले सँगै उनलाई राखेर सम्झाइबुझाई गरे । राति सँगै खाना खाएर लामाको ब्रेन वास गर्ने काम भयो । २९ तारिखका दिन उनलाई एक मीनेट पनि नछाडि नारिता विमानस्थलबाट सँगै नेपाल वायुसेवाको उडानमा ल्याउने काम भयो ।’

घिमिरेले त्यसअघि लामाको साथमा रहेका मोबाइलहरु नियन्त्रणमा लिएका थिए । नारिताबाट विमान चढ्ने बेला भ्याली डिआइजी दीपक थापालाई सम्पर्क गरेर लामालाई स्वदेश ल्याउँदै गरेको खबर दिइयो। सोहीअनुसार मानव बेचबिखन अनुसन्धानबाट इन्सपेक्टर नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विनोदसँग आएका लामालाई हत्कडी लगाएको बुझिएको छ । 
 
अस्ति दिउँसो साढे ३ बजे विमानस्थलमा झर्नुअघि घिमिरेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई पनि यसवारे जानकारी गराएको श्रोतको दावी छ । एनआरएन जापानका अनुसार लामाले फर्जी कागजातको माध्यमबाट एनआरएनए जापानको नाम र अन्य कागजातको दुरुपयोग गरेको भेटिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र त्यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई स्पोन्सर गर्ने आवेदकको नाममा एनआरएनए जापानका अध्यक्ष र उपाध्यक्षको नाम तथा हस्ताक्षर रहेको पाइएको छ । उनले नेपालीलाई पर्यटन भिसामा जापान ल्याउन मुख्य भूमिका निर्वाह गरेका थिए ।

टिप्पणीहरू