सामान्य विवादमा हतियार प्रहार, खुकुरीसहित तीन पक्राउ

सामान्य विवादमा हतियार प्रहार, खुकुरीसहित तीन पक्राउ

राजधानीमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । काठमाडौं महानगरपालिका–३१, आलोकनगर बस्दै आएका कैलालीका २२ वर्षीय मनत केसी खुकुरी प्रहारबाट घाइते भएका हुन् । 

उनको दाहिने हातका औंला पूर्ण रुपमा काटिएकाले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पनि नियन्त्रणमा लिएको छ । 

आलोकनगर बस्र्दै आएका सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने दार्चुलाका १९ वर्षीय प्रेमसिंह महरा समातिएका हुन् । 

प्रहरीका अनुसार हिजो दिउँसो आलोकनगरस्थित सौराहा होटल नजिक उनीहरुबीच विवाद भएको थियो । सोही क्रममा मनतमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारपछि फरार उनीहरुलाई साँझ काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो ।

उनीहरुको साथबाट एक थान खुकुरी, दुई वटा मोबाइल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू