वृद्धाको हत्यापछि लुटपाट गरेका अभियुक्त राजधानीमा

वृद्धाको हत्यापछि लुटपाट गरेका अभियुक्त राजधानीमा

सिन्धुपाल्चोकमा वृद्धाको हत्यापछि लुटपाट गरिएको छ । बाह्रबिसे नगरपालिका ७, खनियाबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या आरोपमा स्थानीय ३६ वर्षे सञ्जिब देउजा उर्फ फुनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बिहान ३ बजे थापाको हत्या गरेपछि गरगहना र नगद लुटिएको थियो । अभियुक्त देउजा त्यसपछि फरार भए । 

घरभित्र भुईंमा दुबै हात बाँधेको अवस्थामा छिमेकी टोकमाया खत्रीले थापाको शव देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनास्थलमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहितको टोलीले थालेको अनुसन्धानबाट घटनाको तीन दिनपछि हत्यारा फेला परेको हो ।

हत्या आरोपित देउजालाई हिजो काठमाण्डौं गोंगबुबाट पक्राउ गरिएको बताइन्छ । बृद्धासँग भएको नगद र गरगहना लुटपाट गर्ने उद्देश्यले हत्या गरेको आरोपित देउजाले प्रारम्भिक अनुसन्धानको क्रममा स्वीकारेका छन् ।

लुटपाट गरिएको धनमाल बरामद भएको छैन । प्रहरीले वृद्धासँग कम्तिमा ६२ हजार नगद र करिब डेढ तोला सुनको गरगहना रहेको अनुमान गरेको छ । 

एकान्तस्थलमा रहेको घरमा एक्लै बस्दै आएकी थापाको एक छोरा विदेशमा छन् भने बुहारी, नातिनातिना काठमाण्डौं बस्छन् । घटनामा अन्यको संलग्नता नदेखिए पनि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू