ओभर कन्फिडेन्स त भएन पाइलटलाई ?
पछिल्लो दुई साता नेपाली आकाशमा दुई वटा हवाई दुर्घटना भएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एअर र हिजो राजधानी नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जको उत्तरतर्फ सूर्यचौर पाखोमा एअर डाइनास्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा १८ जना र एअर डाइनेस्टीमा पाँच जनाको निधन भएको छ ।
हिजो दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीतर्फ चार जना चिनियाँ नागरिक लिएर क्याप्टेन अरुण मल्लले उडाएको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडेको तीनदेखि चार मीनेटमा दुर्घटनाग्रस्त भएको थियो । लगातारको दुर्घटनापछि नेपाली वायुसेवा कम्पनीहरुको विश्वसनीयतामाथि थप प्रश्न चिन्ह तेर्सिएको छ ।
ककपिट भ्वाईस रेकर्डर र फ्लाइट डाटा रेकर्डर विश्लेषण गर्न सिंगापुर पठाइएको छ । त्यसमा पाइलटले बोलेका,टावरसँग भएको सम्वाद,विमानको इञ्जिनलगायत गडबडी हुने भएकाले सौर्यको विमान दुर्घटनाको कारण पछि थाहा हुने छ ।
विमानस्थलस्थित एअर ट्राफिक कन्ट्रोलर स्रोतका अनुसार दुर्घटना अघिसम्म पाइलटले टावरमा केही पनि खबर गरेनन् । हिजोको दुर्घटनाबारे एकजना एअर ट्राफिक कन्ट्रोलरको अनुमान छ, ‘सरसर्ति हेर्दा शिवपुरीमाथिको बादल वा कुहिरोमा छिरेर दुर्घटना भएको हुनसक्छ । टावरबाट खोजी हुँदा पनि पाइलटबाट कुनै खबर नआएकाले बादलमा छिरे कि !’
मल्ल निकै अनुभवी पाइलट मानिन्छन् । उनी हेलिकोप्टर उडानमा नेपालका अधिकांश भूभागका जानकार नै थिए । अर्कोतर्फ हेलिकोप्टर बादलमा छिरे पनि त्यसमा भएका यन्त्रहरुले उचाई,गति, रुटको मौसम,डाँडाकाँडा सबै देखाउने भएकाले बादल वा कुहिरोभित्र छिर्दैमा दुर्घटना हुने भन्ने हुँदैन । किनभने ती सबै जानकारी पाइलटले लिएकै हुन्छ ।
उनै कन्ट्रोलर भन्छन्, ‘उड्दाखेरी पाइलट धेरै कन्फिडेन्ट भए कि ! सँधै उडिरहेको रुट भनेर जाँदा एकाएक मौसम खराब भएको पनि हुनसक्छ ।’ उक्त कारण पत्ता लगाउन हवाई जहाजमा झैँ हेलिकोप्टरमा सहज हुँदैन ।
१५ दिनअघि सौर्य एअरलाइन्सको विमान दुर्घटनाको तथ्य पत्ता लगाउन अझै एक महिना लाग्ने देखिन्छ । विमानका ककपिट भ्वाईस रेकर्डर र फ्लाइट डाटा रेकर्डर विश्लेषण गर्न सिंगापुर पठाइएको छ । त्यसमा पाइलटले बोलेका,टावरसँग भएको सम्वाद,विमानको इञ्जिनलगायत गडबडी हुने भएकाले सौर्यको विमान दुर्घटनाको कारण पछि मात्र थाहा हुने छ । उक्त विमानमा सवार १९ जनामध्ये चालक मनिष शाक्य मात्र जीवित छन् । हाल उपचारमा रहेका उनले पनि दुर्घटनाबारे केही बताउन सक्नेछन् ।
टिप्पणीहरू