हरेक दुर्घटनामा बितेका पाइलटलाई दोष ?
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाइलटलाई दोष दिएको छ ।
आज संसदीय समितिमा उपस्थित क्यानका महानिर्देशक प्रदिप अधिकारीले चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटनामा परेको दाबी गरेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भिएफआर अनुमति नपाएको अवस्थामा पाइलटले हेलिकोप्टर उडाएकाले दुर्घटना भएको दलिल पेश गरे ।
'टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिक्कै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्यौँ । जबसम्म हामी क्र्यास साइट आईडेन्टीफाई गर्न सकेनौ तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो', उनले आफ्नो बचाउ गर्दै भने, 'तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउने बित्तिकै खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो । र नेपाल सरकारले यो दुर्घटना छानविन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्नेतिर म धेरै जान चाहन्न ।'
नियामक निकाय क्यानले हवाई सुरक्षामा प्रभावकारी पहल लिन नसकेका कारण जहाज दुर्घटना बढेको टिप्पणी भैरहँदा आफ्नो बचाऊ गर्दै अधिकारीले अगाडि भने, 'यसको रुट कज सरसर्ती हेर्दाखेरी बादलभित्र प्रवेश गरेको कारण र फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरि ठोक्किएको देखिन्छ । पाइलट इन कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजुअल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो ।'
बादलभित्र प्रवेश गरेको र फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरि ठोक्किएको देखिन्छ । पाइलट इन कमाण्डले भिजुअल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु कानूनले वर्जित गरेको विषय हो ।'
यसअघि सौर्य एअरको जहाज दुर्घटनामा पनि क्यान र अधिकारीको भूमिकामाथि संसदीय समितिमा प्रश्न उठेको थियो । सांसदहरुले उनको राजीनामासमेत मागेका थिए । पछिल्लो १९ महिनामा पटक-पटक हवाई सुरक्षाको क्षेत्रमा भएको कामको प्रगति विवरण माग्दा उपलब्ध नगराएकामा सांसदहरुले उनीप्रति रोष प्रकट गरेका थिए ।
नियामक निकायको नेतृत्वको हैसियतमा अधिकारीले हवाई दुर्घटना रोक्न र युरोपेली संघको कालोसूचीबाट हटाउन कुनै सुधार नगरेको आरोप छ । उनले प्राधिकरणको नेतृत्व सम्हालेपछि आधा दर्जनबढी ठूला हवाई दुर्घटना भएका छन् । त्यसकारण उनले नैतिक रुपमा जिम्मेवारीमा बस्न नमिल्ने तर्क सांसदहरुले गरेका छन् ।
हिजोको हेलिकोप्टर दुर्घटनाबारे सरकारले गठन गरेको छानविन समितिले बिस्तृत विवरण दिने भन्दै टक्टकिएका अधिकारीले चालक दलले भिएफआर उल्लङ्घन गरेको निष्कर्ष संसदीय समितिलाई सुनाएका छन् । काठमाडौँबाट रसुवाका लागि उडेको सो हेलिकोप्टर हिजो अपराह्न त्रिभुवन विमानस्थल नजिकै शिवपुरी छेउमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पाइलटसहित पाँच जनाको निधन भएको छ । ज्यान गुमाउने चार जना चिनियाँ नागरिक हुन् ।
अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदासमेत प्रभावकारी उद्धार हुन नसकेकोमा पनि प्राधिकरणको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।
टिप्पणीहरू