पर्सामा पौने पाँच करोडको भेप बरामद
पर्सामा झण्डै पाँच करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक सिगरेट (भेप) प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–६, रेल्वेरोडस्थित एक घरमा छापा हानेर प्रहरीले उक्त परिमाणको भेप बरामद गरेको हो । उक्त घरमा कोठा लिएर भारतको बिहार स्थायी ठेगाना भएका सुदामा प्रसादले भेप भण्डारण गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली आज उक्त घरमा पुगेको थियो । खोजतलासका क्रममा ७६ वटा कार्टुनमा १५ हजार दुई सय पिस भेप फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बरामद भेपको मूल्य चार करोड ८६ लाख २४ हजार आठ सय रुपैयाँ रहेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू