कृष्णनगर नाका : अवैध ओसारपसारको पर्यायवाची

कृष्णनगर नाका : अवैध ओसारपसारको पर्यायवाची

-मनिष गुप्ता

कपिलवस्तुको कृष्णनगर क्षेत्रमा गएराति भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको ठूलो परिमाणको कपडा बरामद भएको छ ।  नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले रात्रि गस्तीका क्रममा भन्सार छलेर ल्याइएका नौ लाख रुपैयाँ बढीका कपडा नियन्त्रणमा लिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार वडा नम्बर २ मा, नेपाल प्रहरीले बेवारिसे अवस्थामा रहेको छ लाख रुपैयाँको कपडा बरामद गरेको हो । प्रहरी निरीक्षक सुरज खत्रीले भने, ‘गोप्य सूचनाका आधारमा भारतबाट अवैध रूपमा ल्याइएका कपडा नियन्त्रणमा प्रहरी टोली खटाइएको थियो जसले १९ बोरा कपडा फेला पारेको हो ।’

ती बोरामा १७७ थान लेडिज सुट, ८१ थान साडी, ६३ थान कपडा र आठ थान ठूला रुमाल हुन् । प्रहरी देखेपछि तस्करहरु सामान छाडेर भारतीय इलाकातर्फ भागेका थिए । छ लाख रुपैयाँ अनुमान उक्त सामान आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल कृष्णनगरले सीमा क्षेत्र बगही नजिकै दुईवटा भारतीय नम्बरका मोटरसाइकलसहित तीन लाखभन्दा धेरैको कपडा बरामद गरेको छ । सशस्त्रका डिएसपी शैलेन्द्र न्यौपानेका अनुसार साडी ३७ पिस, कुर्ता सुरूवाल ८१ पिस र ७ पोका सुर्ति बरामद भएको हो ।

सो क्रममा यु.पी ५६ इ ५९८३ र यु.पी ४७ एफ ५५१२ नम्बरका मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरु प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल छाडेर भारततर्फ भागेको बताइन्छ । बरामद सामान र मोटरसाइकल कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ । 

ती कपडा भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल ल्याउने क्रममा फेला परेको हो ।

टिप्पणीहरू