यताबाट क्याप लगाएर पठाइएकी युवतीकाे मौरिससमा किनबेच

यताबाट क्याप लगाएर पठाइएकी युवतीकाे मौरिससमा किनबेच

ग्रीन कार्डको प्रलोभन देखाउँदै मौरिससमा नेपाली युवती बेचेको रहस्य खुलेको छ । झापाको कमल गाउँपालिका–१, बस्ने ५४ वर्षीय बुद्धिराज न्यौपाने पक्राउ परेपछि उक्त तथ्य बाहिरिएको छ ।

उनले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाई हुने कुकको काम लगाइदिने बताएका थिए । केही समयपछि ग्रीन कार्डसमेत पाइने आश्वासन देखाउँदै युवती बेचबिखन गरेको यथार्थ अहिले खुलेको हो । 

न्यौपानेले पीडितसँग लागत खर्च भन्दै साढे दुई लाख रुपैयाँ लिएका थिए । त्यस्तै, मौरिसस पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीडितलाई ‘मौरिसस’ लेखिएको क्याप लगाउन लगाई फोटो खिचेर मौरिससमा रहेका आफ्ना साथीलाई पठाएका थिए । 

सोहीअनुसार गत माघ १३ गते भारतको नयाँ दिल्ली हुँदै पीडित युवतीलाई मौरिसस पुर्याइयो । सोही क्यापको आधारमा पीडितको पहिचान गराई मौरिसियाका नागरिकको जिम्मा लगाइएको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

प्रहरीका अनुसार ती मौरिसियन नागरिकले पक्राउ परेका न्यौपानेबाट उपहारस्वरुप खरिद गरी ल्याएको भनी पीडितलाई दैनिक १७–१८ घण्टा घरको काम गर्न लगाउनुका साथै खाना र तलब समेत नदिई यौन शोषण गरेका थिए  । पीडितले आफुलाई नेपाल फर्काइदिन अनुरोध गर्दा न्यौपानले घर मालिकले भनेबमोजिम गर्नुपर्ने भन्दै धम्काएका थिए ।

आफू बसेको घरबाट राति भागेकी उनले पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरो मार्फत् असार २० गते स्वदेश आएकी हुन् । आज काठमाडौंको गौरीघाटबाट पक्राउ परेका न्यौपानेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू