सौन्दर्य प्रतियोगिताका युवतीहरु प्रलोभनमा अंग प्रदर्शन गर्न बाध्य !

सौन्दर्य प्रतियोगिताका युवतीहरु प्रलोभनमा अंग प्रदर्शन गर्न बाध्य !
सुन्नुहोस्

सौन्दर्य र फेसन प्रतियोगिताका नाममा हुने विभिन्न कार्यक्रमले समाजमा विकृति बढाएको आरोप छ । मनोरञ्जनको रंगीन दुनियाँमा आफ्नो करिअर बनाउन चाहने युवतीहरुलाई यस्ता प्रतियोगिताले दासी बनाएको गुनासो गर्नेहरु धेरै छन् । 

भनिन्छ, विभिन्न टाइटलको प्रलोभनमा युवतीहरुलाई अंग प्रदर्शन गर्नुपर्ने मनोदशामा पुर्याइन्छ । र, युवतीहरु पनि अन्जानमै आयोजकको निर्देशन पालनाको निम्ति तयार हुन्छन् । १८ वर्ष मुनिका बालबालिकालाईसमेत प्रयोग गरेर आयोजकले कमाउ धन्दा चलाएका उदाहरण प्रशस्तै छन् । त्यसमध्येको एउटा घटना मोरङ उर्लाबारीमा आयोजित सौन्दर्य प्रतियोगिता बनेको छ । 

त्यहाँ ‘जुनियर मिस्टर एण्ड मिसेस’ एक सौन्दर्य प्रतियोगिता चलिरहेको छ । ड्रिम मोडलिङ एजेन्सी नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा ७ देखि १४ वर्ष उमेर समूहका बालबालिका सहभागी छन् । 

प्रतियोगिताका विजेताले २५ हजार नगद पुरस्कार पाउने भनिएको छ । तर, प्रतिस्पर्धी ४५ जना बालबालिकाबाट दर्ता शुल्क १५ हजार असुलिएको छ । साथै प्रशिक्षण र वर्कशपकै क्रममा पनि भोटिङ सिस्टम बनाइएको छ । जबकि, सामान्यतः भोटिङ राउन्ड प्रतियोगिताको अन्त्यतिर मात्रै खुलाइन्छ । 

आयोजकले प्रतियोगितालाई कमाउ माध्यम बनाउन थालेपछि यतिबेला अभिभावकहरु आक्रोशित भएका हुन् । ‘नानीहरुको क्षमता बढ्ला, केही सिक्लान् भनेर सहभागी गराएँ’, एक अभिभावकले भनिन्, ‘तर आयोजक एक नम्बरको लुटेरा रहेछ, सुरुमा १५ हजार लियो, मैले मेरै नानीको लागि हो भनेर केही नबोली दिएँ, अहिले भोटिङ सोटिङ भनेर पैसा खर्च गर्नैपर्ने वातावरण बनायो ।’

छोरीलाई अब प्रतियोगिताबाट निकाल्दा मनोवैज्ञानिक असर पर्नसक्ने जोखिमका कारण चुप बस्नु परेको ती अभिभावकको दुःखेसो छ । भन्छिन्, ‘मैले त हार मानिसकेँ, नानीलाई निकालुँ भने उसलाई नराम्रो असर पर्छ भन्ने पीर, ननिकालुँ भने अहिलेसम्म ४० हजार सकिइसक्यो, निल्नु न ओकल्नु भाको छ मलाई ।’

त्यसो त, प्रारम्भमा आयोजकले भोटिङ सिस्टम नहुने बताएको थियो । तर, सबैसँग दर्ता शुल्क असुलेपछि भोटिङ सिस्टम थपेको ती अभिभावकले बताइन् । उर्लाबारीकै स्थानीय प्रदीप धिमालले पनि आयोजकले कमाउ धन्दा चलाइरहेको दाबी गरे । ‘केटाकेटीको सामान्य प्रतियोगिता हो, अझै त्यहीमाथि प्रशिक्षण भइरहेको बेला के को भोट हुन्छ ?’, उनले आक्रोश पोखे, ‘यो सबै आयोजकको लुटी खाने बाटो हो ।’

उता आयोजकले भने सहभागी बालबालिकाको खाना, खाजा, यातायात र पोशाककै लागि दर्ता शुल्क १५ हजार मात्र लिइएको बताएको छ । दर्ता शुल्कअघि सबै अभिभावकहरुलाई यसबारे जानकारी गराइएको आयोजक टिमका सदस्य सरोजमान भण्डारीको दाबी छ ।

‘नानीबाबुहरुको खाना, खाजा, ड्रेस, यातायात, फोटो भिडियो शुट सबै हाम्रै जिम्मेवारी हो, दर्ता गर्दा लिइएको रकम त्यसमा खर्च हुन्छ’ उनले भने, ‘एक जना बराबर चार हजार जति त स्न्याक्स, जुसमा खर्च हुन्छ, ५/६ हजार ड्रेसलाई पर्छ ।’

भण्डारीले अहिलेसम्म २५ भन्दा बढी कार्यक्रम गरेको बताउँदै यस पटक पनि आफूहरुको गलत नियत नभएको जिकिर गरे । ‘हाम्रो सामाजिक सञ्जालमा हेर्नुभयो भने तपाईंहरुले पनि थाहा पाइहाल्नुहुन्छ, नानीहरुको फोटो÷भिडियो आइरहेको छ, हाम्रो उद्देश्य नानी बाबुहरुको ट्यालेन्टलाई बाहिर ल्याउनु हो, अरु कुनै नियत छैन’, उनले भने । 

त्यस्तै भोटिङ सिस्टम राखिए पनि अनिवार्य नभएको उनको तर्क छ । ‘सहभागीहरुबाट टप २० छानिन्छन्, त्यसबाट १० जना छानिन्छन्, अनि फेरि त्योबाट विजेताहरु घोषणा हुन्छन्’, उनले अगाडि भने,‘प्रत्येक दिनको गतिविधिबारे अभिभावकहरुलाई पनि जानकारी गराउँदै आएका छौँ ।’

टिप्पणीहरू