ट्राफिकभन्दा चालक दोषी

ट्राफिकभन्दा चालक दोषी
सुन्नुहोस्

भक्तपुरको गट्ठाघरमा हिजो एक पुरुषको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा ट्राफिक प्रहरी जिम्मेवार नरहेको पाइएको छ । 

यसअघि ट्राफिक चेकजाँचका क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएका कारण उक्त दुर्घटना भएको भनिएको थियो । तर, दुर्घटनाको सिसीटीभी फुटेज सार्वजनिक भएसँगै ट्राफिक प्रहरीका कारण दुर्घटना नभएको स्पष्ट भएको हो । 

प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले अगाडि गुडिरहेको स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । घटनास्थल छेउछाउ प्रहरीको चेकपोइन्ट देखिंदैन । फुटेज हेर्दा ट्रक चालकले स्कुटर नदेखेको अनुमान गर्न सकिन्छ । किनभने अगाडिको टायरले ठक्कर दिएपछि पनि ट्रक नरोकी चालकले आफ्नै गतिमा दौडाइरहेको र पछाडिको चक्काले लतार्दै लगेको देखिन्छ । 

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटीमा खटिएको देखिन्छ । र,दुर्घटनालगत्तै एकजना दौडेर ट्रक भएको स्थानमा पुगेका हुन्छन् । त्यसपछि ट्रक रोकिन्छ ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटीमा खटिएको देखिन्छ । र,दुर्घटनालगत्तै एकजना दौडेर ट्रक भएको स्थानमा पुगेका हुन्छन् । त्यसपछि ट्रक रोकिन्छ ।   

हिजो दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको थियो । 

ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै हिजो अपराह्न स्थानीयले प्रदर्शन गरेका थिए । जसका कारण दिनभर भक्तपुर क्षेत्र तनावग्रस्त बनेको थियो । 

स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

टिप्पणीहरू