गल्तीबिनै ट्राफिकमाथि किन खनिए सर्वसाधारण ?

गल्तीबिनै ट्राफिकमाथि किन खनिए सर्वसाधारण ?

भक्तपुरको गठ्ठाघर चोकमा हिजो दिँउसो एकदमै अप्रिय घटना घट्यो । ट्रकको ठक्करबाट एक स्कुटर चालकले घटनास्थलमै ज्यान गुमाए । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई पछाडिबाट आउँदै गरेको ना.६ ख २१७३ नम्बरको ट्रकले हिर्काएको हो । 

ठक्करपछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बन्यो । ट्राफिकको विरोधमा स्थानीय सडकमा उत्रिए । ट्राफिकमाथि ढुंगामुढा प्रहार भयो । सयौंको संख्यामा स्थानीय सडकमा आएपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो । 

ट्राफिक प्रहरीको कारण दुर्घटना भएको भनि समाचारहरु प्रकाशित भए । ट्राफिकले स्कुटर रोकेर चेकजाँच गर्न थालेको र पछाडिबाट आउँदै गरेको ट्रकले हानेको भनियो । तर, वास्तविकता अर्कै थियो । हुँदै नभएको कुरा ‘भुसमा आगो फैलिए’ झैं फैलियो । 

स्थानीय ट्राफिकमाथि जाइलागे । आफ्नो ज्यान जोगाउन ट्राफिक भाग्नुपर्ने अवस्था बन्यो । ड्युटीमा खटिएका ट्राफिकलाई बर्खास्त गर्नुपर्नेसम्मको माग उठ्यो । सर्वत्र विरोध भएपछि आज गठ्ठाघरमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरिएको छ । 

उक्त भिडियोमा ट्राफिकको कहीँकतै गल्ती नै देखिँदैन् । भक्तपुरका सडकमा दिनहुँजसो ट्राफिक चेकिङ्ग हुन्छ । नियमितझैं हिजो पनि ट्राफिक चेकिङ्गमा खटिएका थिए । तर, ट्राफिक दुर्घटनास्थलभन्दा ३०–३५ मीटर पर उभिएका थिए । 

सोही क्रममा ट्रकले गुडिरहेको स्कुटरलाई ठक्कर दिन्छ । चालकलाई लतार्दै परसम्म पुर्याउँछ । शव क्षतविक्षत हुन्छ । ट्राफिक दौडिँदै ट्रकनजिक पुग्छ । ट्रक चालक फरार हुन्छन् । यता, स्थानीय पनि दौडिँदै घटनास्थलमा पुग्छन् । 

ट्राफिककै कारणले दुर्घटना भएको भन्दै उनीहरुले ढुंगा हिर्काउन थाल्छन् । घटनाले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपर्यो । बेलुका मृतक महिला भएको भन्दै समाचार प्रकाशन भए । तर, सिसीटिभी फुटेज हेरेपछि मात्र मृतक पुरुष भएको पत्ता लागेको हो । 

स्कुटीमा ब्लूबुक पनि पुरुषकै भेटिएको छ । मृतक ओखलढुंगा घर भई काठमाडौंको कपन बस्दै आएका उत्तम कोइराला भएको खुलेको छ । 

ट्राफिकमाथि किन भड्किए सर्वसाधारण ? 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न, राजश्व उठाउन र सवारी व्यवस्थापन गर्न अधिकारप्राप्त व्यक्ति ट्राफिक हुन् । ट्राफिकको काम सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउनु पनि हो । पछिल्लो समय आम सर्वसाधारण ट्राफिक प्रहरीप्रति आक्रान्त छन् । उनीहरुमा ट्राफिकलाई लिएर वितृष्णा जागेको छ । 

हिजोको घटनाले पनि त्यही देखाएको छ । दुर्घटनामा कसको दोष थियो ? के कारणले दुर्घटना भयो ? हेरिएन् । सिँधै ट्राफिकमाथि हातापाईमा उत्रिने गतिविधि भए । ट्राफिककै कारणले दुर्घटना भएको भन्दै दोषी करार गरियो ।

 

उनीहरुमाथि भडास निकालियो । सिसीटिभी फुटेज सार्वजनिक भएपछि पनि सर्वसाधारणले ट्राफिकलाई कोस्न भनि छोडेका छैनन् । आखिर किन ट्राफिक सर्वसाधारणको आँखामा तारो बन्दै गएका छन् ? सर्वसाधारणमा किन ट्राफिकदेखि घृणा जागेको छ ? यो गम्भीर प्रश्न हो । 

पछिल्लो समय सडकमा ट्राफिक प्रहरीको आतंक बढ्दो छ । दुर्घटना न्यूनिकरणभन्दा पनि ट्राफिक प्रहरी चिट काट्नमा बढी केन्द्रित देखिन्छन् । झाडी पछाडि लुकेर ट्राफिकले स्पिड चेक गर्ने गरेका छन् । जहाँ मनलाग्यो त्यही रोकेर चिट काट्छन् । गल्ती नभएपनि ट्राफिकले रोकेर दुःख दिने गरेको सवारी चालकहरुको गुनासो छ । 

भिमसेन खनाल सामाजिक सञ्जालमा लेख्छन्,‘बरु राजामा त्यति घमण्ड थिएन् होला जति अचेल ट्राफिक प्रहरीमा छ । त्यति घमण्ड बढेको छ । कमिशनको खेलले सर्वसाधारण यति मर्कामा छन् कि त्यो हामी कल्पना पनि गर्न सक्दैनौं । भोगाइ त भोग्नेलाई थाहा हुन्छ । करोडौं रकम राजश्व उठ्छ न त ट्राफिक सचेतना कार्यक्रम छ न त दुर्घटना नै न्यूनिकरण भएको छ । यसको दोषी सँधै चालक हुँदै होइन् ।’ 

त्यस्तै, जस राईले भनेका छन्,‘ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नेतर्फ होइन्, कसरी हुन्छ चिट काट्ने राजश्व वृद्दि गर्नेतर्फ ध्यान केन्द्रित भएको देखिन्छ ।’ 

पुष्पलाल काफ्लेले लेखेका छन्,‘चिलले कुखुरा छोप्न गएझैं ७–८ जनाको हुल एउटा सवारी रोक्न एकै ठाउँबाट रोकरोक भन्दै आफूतिर आउँदै गर्दा जो कोहीको मन डराउँछ र सवारी दुर्घटना हुन पुग्छ, त्यो अवस्थामा गलत निर्णय गर्न बाध्य हुन्छ चालक र अगाडि पछाडि नहेरी झ्याप्पै रोक्ने, निषेध ठाउँमा जान खोज्ने, वान–वेमा यु–टर्न गर्ने यस्ता गतिविधिले धेरैपटक दुर्घटना भएको देखेको छु । म स्वयं आफैंले पनि भोगेको छु र भन्दै छु ट्राफिक ज्यादती नै छ नेपालमा, साँच्नै भन्ने हो भने उनीहरु आफूले पनि कुनै सेफ्टी अप्नाएका हुँदैन् । आफू असुरक्षित भएर अरुलाई पनि जोखिम बनाउने यो ट्राफिकहरुको नियतमाथि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

राजिव खत्रीको भनाइ छ,‘ट्राफिक प्रहरीलाई चिट काटेबापतको कमिशन खारेज गर्न जरुरी छ । तलब मात्र दिने हो । यहाँ मनदेखि राष्ट्रसेवक कोही छैनन् । सुरक्षा, व्यवस्थापनको लागि के निहुँ पाऊँ र २५ प्रतिशत झ्वाम्म पारौं भनेर मुख आँ गरेर सडकमा बस्ने धेरै छन् ।’

ट्राफिकलाई सवारी व्यवस्थापनको मात्र जिम्मेवारी दिनुपर्ने माग यतिबेला व्यापक उठेको छ । जरिवाना उठाउनभन्दा पनि ट्राफिक प्रहरी नियम लागू गराउनमा बढी केन्द्रित हुनुपर्ने यातायातविद्हरु बताउँछन् । यता, ट्राफिकलाई चिट काटेबापत दिइने कमिशन हटाउनुपर्नेमा उनीहरुको जोड छ । 

नियम पालना गराउने नाममा ट्राफिकको ज्यादती अति नै भएकाले सर्वसाधारण उनीहरुसँग रुष्ट भएको यातायातविद्हरुको बुझाइ छ । ट्राफिकले चालकमा पैसा देख्ने गरेको उनीहरु बताउँछन् । 

टिपरझैं ट्रकमा पनि रोक लगाउने कि !

काठमाडौं उपत्यकामा नाम मात्रको सडक छ । न लेन छुट्याइएको छ न ठाउँ–ठाउँमा ट्राफिक लाइट नै जडान गरिएको छ । सबै किसिमका सवारी साधन एउटै सडकबाट गुड्छ । जसका कारण सवारी व्यवस्थापन गर्न ट्राफिकलाई नै हम्मेहम्मे पर्ने गरेको छ । 

केही वर्षअघिसम्म काठमाडौंमा टिपरको आतंक ज्यादै थियो । टिपरले मान्छे किचेर मार्ने क्रम बढेपछि सरकारले दिँउसोको समयमा टिपर चलाउन रोक लगाएको हो । बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म टिपर सञ्चालनमा निषेध गरिएको छ । 

नियमन फितलो हुँदा सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् । सरकारले दिनको समयमा ट्रक चल्नबाट पनि रोक लगाउनुपर्ने देखिन्छ । चालकको कतै नहेरिकन ट्रक हुइँकाउने प्रवृत्तिका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ । 

यता, सरकारले हालपनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम नै काम चलाइरहेको अवस्था छ । उक्त ऐन संशोधनका लागि पटकपटक माग उठिसकेको छ । यद्यपि, सरकारले बेवास्ता गरेको छ । सरकारको गैरजिम्मेवारीपनका कारण सवारी दुर्घटना बढिरहेको यातायातविद्हरुको आरोप छ । 

जानाजान मार्दै चालक

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद १० को दफा १६१ मा ज्यान मरेमा हुने सजायबारे उल्लेख छ । उपदफा (१) मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनशाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ ।’

त्यस्तै, कसैले कुनै सवारी चलाउँदा दुर्घटना हुन गई सवारीमा रहेको वा बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको मृत्यु भएमा चालकलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । सवारीको ठक्करबाट कोही अंगभंग भएमा चालकलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

अंगभंग भएर निको भईकन पनि काम नलाग्ने भएमा बीमाबापतको रकम र घर खर्चबापत मासिक २५ हजारदेखि ५० हजार रुपैयाँ उपलब्ध गराउनुपर्छ । त्यस्तै, उपचार खर्च पनि सवारी चालकले व्यहोर्नुपर्छ । जिन्दगीभर उपचार खर्च व्यहोर्नुपर्ने भएकाले चालकले बाँच्नेलाई पनि किचेर मार्ने गरेका छन् । यता, यातायात समितिको दबाबमा चालक ३५ दिनमा छुटिहाल्छन् । 

के भन्छ ट्राफिक ? 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ट्रक चालक पक्राउ परिसकेको जानकारी दिए । ट्राफिकको अनुगमन बढी भएकोबारे गुनासो आइरहेको उनले स्वीकारेका छन् । 

‘हिजोको घटनामा ट्राफिकको दोष छैन् भन्ने सिसीटिभीले देखाएको छ । तैपनि ट्राफिकमाथि दुर्व्यवहार भयो । ट्राफिकको अनुगमन बढी भयो भनेर गुनासो आइरहेको छ । हामी यसबारे छलफल गर्छौं’, उनले भने । त्यस्तै, उनले कार्यालयबाट सचेतना कार्यक्रमहरु पनि भइरहेको जानकारी दिए ।

टिप्पणीहरू