थामेको उद्दारमा खराब मौसम बाधा, क्षतिको विवरण थपिँदै
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रको बाढीमा फसेका छ जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएको आशंका छ ।
दिउँसो अचानक आएको बाढीले १६ वटा घर बगाएको छ । त्यस्तै, एउटा विद्यालय, एउटा क्लिनिक र एउटा होटल पूर्ण रुपमा क्षति भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन् ।
उनका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन । जनआस्थासँग भनिन्, ‘पानी परिरहेको र हिँडेर जानुपर्ने भएकाले उद्धार टोली पनि केहीबेर अघि मात्रै पुग्यो । छ जना मान्छेसहित पशुपन्छीको उद्धार ब गरिएको छ । एक जना बाढीमै बेपत्ता भएको आशंका छ, कन्फर्म गर्दैछाैँ ।’
प्रजिअ पाण्डेले बिजुली र नेटवर्कको समस्या हुँदा घटनास्थलको यथास्थितिबारे जानकारी लिन कठिन भइरहेको पनि बताइन् । हिमपहिरोले ताल बगाएको आशंका छ ।
हेलिकोप्टर व्यवस्थापन गरिए पनि खराब मौसमको कारण धेरै उडान गर्न नसकिएको बताइन्छ । ‘ताल र हिमाल बाढी आएको बस्तीभन्दा धेरै माथि छ । दुरी अनुमान लगाउनसमेत सकिँदैन । बाढीको कारण थाहा पाउन हामीले हेलीको पनि म्यानेज गरेका छौं, तर मौसमको कारण उडाउन नै सम्भव छैन’, उनले थपिन् ।

प्रजिअ पाण्डेले बाढी दिउँसो आएको कारण मानवीय क्षति हुनबाट जोगिएको बताइन् । राति बाढी आएको भए मानवीय क्षतिको सम्भावना कल्पनाभन्दा बाहिर हुने थियो । सेना र प्रहरीको एउटा टोली घटनास्थल पुगेर उद्धारमा संलग्न भएको छ । उनीहरुले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् ।









टिप्पणीहरू