उपमेयरको चरित्र हत्यामा एआईको दुरुपयोग
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरेर व्यक्ति विशेषको चरित्र हत्या गर्ने क्रम बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सक्रियता बढाएको छ । ब्युरोले उच्च प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको राजनैतिक तथा सामाजिक चरित्र हत्या गर्ने क्रम बढ्दै गएकाले त्यस्तो गतिविधिमा सहभागी नहुन सचेत गराएको छ ।
‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोलकल्पित र भ्रामक विषयमा श्रव्यदृश्य सामग्री तयार तथा प्रसारण गरी गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गर्ने गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारका गतिविधि नगर्न नगराउन हुन साइबर ब्युरो अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ता कार्यको जवाफदेही स्वयम् व्यक्ति हुनुपर्ने ब्युरोको चेतावनी छ । कानूनी झन्झटमा पर्नबाट जोगिन पनि उसले सतर्क गराएको छ । एआई प्रविधिबाट फेक फोटो र भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको जनाउँदै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गत बुधबार ब्यूरोलाई लिखित जानकारी गराएकी थिइन् । प्रविधिको दुरुपयोग गरेर बनाइएका आफ्ना फेक फोटो, भिडियोजस्ता सामग्री हटाइदिन र कानूनबमोजिम त्यस्ता व्यक्तिलाई कारबाही गर्न उनको माग छ ।
टिप्पणीहरू