घुससहित फेला परेका प्राविधिकहरु भ्रष्टाचारमा तानिए

घुससहित फेला परेका प्राविधिकहरु भ्रष्टाचारमा तानिए

घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धामीसहित कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध पनि मुद्दा अघि बढाएको छ ।

आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई चार लाख १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो ।

अनुसन्धानको क्रममा कृषि सामग्री खरिदबापत भुक्तानी गर्नुपर्ने रकमको चेक उनीहरुले कृषक समूहबाट संकलन गरी आफूसँग राखेर भुक्तानी गर्नका लागि सेवाग्राहीबाट घुस मागेको पुष्टि हुन आएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम नौ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित दुवै जनाउपर आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
 

टिप्पणीहरू