लागूऔषध ओसारपसारमा टाटा सुमोको ट्याङ्की प्रयोग

लागूऔषध ओसारपसारमा टाटा सुमोको ट्याङ्की प्रयोग
सुन्नुहोस्

टाटा सुमोको तेल ट्याङ्कीभित्र राखेर भारतबाट लागूऔषध ओसारपसार गरिएको पाइएको छ । भारतीय नागरिक ३७ वर्षीय वीरबल महतो पक्राउ परेपछि उक्त तथ्य बाहिरिएको हो । 

प्रहरीका अनुसार उनले भारतको रक्सौलबाट काठमाडौंमा लामो समयदेखि औषधीजन्य लागुपदार्थको ओसारपसार गरेको पाइएको हो । उनको भारतीय नम्बर प्लेट बीआर ०६ पीए २०९० को रातो रङको टाटा सुमोको इन्धन राख्ने ट्याङ्कीमा फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको छ । 

नाईट्रोजेपास नौ सय ३०, डाईजेपास छ सय, बुप्रेनोर्फिन पाँच सय ९८ र फेनारगन पाँच सय ९१ एम्पुल बरामद गरिएको छ । हिजो ललितपुर महानगरपालिका–२, बाट पक्राउ परेका महतोमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 

काठमाडौंको बौद्ध नयाँ बस्ती बस्ने २९ वर्षीय विजय परियार पनि लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई पाँच हजार दुई सय ५० वटा नाईट्राभेट ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिइएको हो ।  परियारले पनि लामो समयदेखि काठमाडौंमा त्यस्तो पदार्थको कारोबार गरेको खुल्न आएको छ ।

टिप्पणीहरू