बालेन र सुनितालाई जोड्ने रमेश पक्राउ

बालेन र सुनितालाई जोड्ने रमेश पक्राउ
सुन्नुहोस्

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत समातिएका हुन् । उनलाई अस्ति सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । 

रावतउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ । 

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर एआइ भिडिओ बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । आफ्नो फेक फोटो र भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै सुनिताले गत बुधबार प्रहरीमा उजुर हालेकी थिइन् । 

साइबर ब्यूरोले प्रविधिको दुरुपयोग गरेर व्यक्ति विशेषको राजनीतिक तथा सामाजिक चरित्रहत्या गर्ने क्रम बढ्दै गइरहेको भन्दै त्यस्तो गतिविधिमा सलंग्न नहुन सचेत पनि गराएको छ ।

टिप्पणीहरू