इन्द्रावती थुनियो, सतर्कता अपनाउन अनुरोध
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७, तिपेनीमा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको जनाउँदै स्थानीय प्रशासनले सतर्कता अपनाउन सुझाएको छ ।
पहिरोका कारण बहावमा अवरोध भएकाले नदी थुनिन सक्ने र एक्कासी खुलेमा बाढीको जोखिम रहेकाले प्रशासनले नदी किनारमा रहेकालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
‘नदी थुनिएर एक्कासी खोलिएमा बाढी आाउन सक्ने भएकोले पाँचपोखरी गाउँपालिका वडा नं. ७ र ८, मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२ र १३ र इन्द्रावती गाउँपालिका वडा नं. १०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।
आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका वा प्रशासनको ९८५१२४३०८४ वा ०११६२०४७० मा सम्पर्क गर्न भनिएको छ ।
टिप्पणीहरू