माइक्रोबसमाथि ढुंगा खस्दा दुई बालिका घाइते

माइक्रोबसमाथि ढुंगा खस्दा दुई बालिका घाइते

नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा गुडिरहेको माइक्रोबसमाथि ढुंगा खस्दा दुईजना घाइते भएका छन् । 

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा आज दिउँसो भएको यो दुर्घटनामा माइक्रोबसमा सवार दुई बालिका घाइते भएका हुन् । घाइते हुनेमा नवलपुरको देवचुली नगरपालिका–१३ की कल्पना परियारकी आठ वर्षीया छोरी कविता र पाँच वर्षीया छोरी कञ्चन परियार रहेका छन् । 

उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) भेषराज रिजालले बताए । 

काठमाडौंबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुंगा खस्दा अगाडिको सिसा फुटेको र सिसाले हातमा लागेर बालिकाहरु घाइते भएको रिजालले जानकारी दिए ।

‘आज बिहान काठमाडौंबाट भरतपुर जाँदै गरेको माइक्रोबसमाथि ढुंगा खसेको हो । अगाडिको सिसा फुटेपछि नानीहरुको हातमा लागेछ । उनीहरुको हातमा सामान्य चोटपटक लागेको छ । अहिले उपचार भइरहेको छ’,उनले भने ।
 

टिप्पणीहरू