सडक दुर्घटनाका घाइतेको हवाई उद्धार
हुम्लाको चङ्खेलीमा आज बिहान भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्दार गरेर उपचारका लागि सुर्खेत पुर्याइएको छ ।
चंखेली गाउँपालिका-२ गौरीसल्लाबाट देउली बजार जाँदै गरेको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाामा ७ जना जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते चार जनालाई सिम्रिक एयरको हेलीकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाएको जिप्रका हुम्ला असई रमेश बहादुर रावलले जानकारी दिए ।
मौसम खराबीको कारण उद्धारमा समस्या परेको जनाउँदै उनले केहीबेर अघि हेलिकोप्टर सुर्खेत पुगेको जानकारी दिए । ‘जीप पल्टेको बिहान ९ बजे हाे, ११ बजेतिर सिरियस घाइतेहरुलाई रिफर गर्न खोजेका थियौँ’, उनले जनआस्थासँग भने, ‘तर मौसम खुलेपछि हेलिकोप्टर उड्ने वातावरण बन्यो । घाइतेहरु १०/१५ मिनेटअघि अस्पताल भर्ना भएको खबर आएको छ ।’
सुर्खेत रिफर गरिनेहरुमा सुरेन्द्र शाही, तिलबहादुर शाही, पृथ्वी रावत र रमेश मल्ल छन् । मल्ल दुर्घटना भएको जीपका साहुसमेत हुन् । उनीहरु सबैको टाउको गम्भीर चोट लागेको बताइएको छ ।
अन्य घाइते रविन शाही, महेन्द्र विक्रम शाही र मायादेवी शाहीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू