बसस्टपमै लुटियो सुनकाे सिक्री

बसस्टपमै लुटियो सुनकाे सिक्री

सुनको सिक्री लुटपाटमा संलग्न तीन जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक घर भएका र हाल ललितपुरको ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा, बनेपाका ३८ वर्षीय अनिलकुमार तामाङ र काठमाडौंको गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ समातिएका हुन् । 

गत साउन २१ गते जडीबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि भक्तपुरको कमलविनायकसम्म जाने क्रममा मध्यपुर थिमी बस्ने ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री लोकन्थलीको बसस्टपमा लुटपाट गरिएको बताइन्छ । अनुसन्धानको क्रममा उनीहरुको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहत अपराध शाखाबाट खटिएको टोलीले आइतबार तीनै जनालाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान गर्दा उनीहरुमाथि यसअघि पनि मुद्दा चलेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अनिलमाथि २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो । 

गणेशविरुद्ध ०७५, ०७६, ०७९ र ०८१ मा समेत अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको पाइएको छ । सुरेशविरुद्ध पनि २०७८ मा तीन पटक र ०७९ मा एक पटक अभद्र व्यवहार मुद्दामा चलेको खुलिन आएको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरी वृत्त थिमीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू