सर्वोच्चले आदेश दिनुअगाडि नै समातिए सूत्रधार
रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी निकट ‘सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो बनाएकोमा प्रमाणित राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतका न्यायाधीश, केही वकिल र सञ्चार उद्यमीको नामसहित मुद्दामा सेटिङ मिलाएको भनिएको अडियो सीधा कुराले सार्वजनिक गरेको थियो ।
प्रहरीले तिमल्सिनासहित सीधा कुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोवार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर गरिसकेको छ । तीमध्येका तिमिल्सिनालाई हिजो राति प्रहरीले पक्रेको हो ।
फरार बनाइएका तिमल्सिनालाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले काठमाडौंंको पेप्सीकोलाबाट नियन्त्रणमा लिए पनि उक्त प्रकरणमा सँलग्न युवराज कँडेल र नवीन ढुंगाना भने यतै ‘फरार’ छन् ।
तिमिल्सिनाले सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै फेक अडियो बनाएका थिए । सोही अडियो कँडेल र ढुंगानाले सीधा कुरा डटकम र युट्युबबाट सार्वजनिक गरेका हुन् ।
उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा नौ सदस्यीय बृहत् पूर्ण इजलासले आज फैसला सुनाउँदै छ । सर्वोच्चले अभिव्यक्ति स्वतन्त्रता र अदालतको अवहेलनासम्बन्धी संवेदनशील मुद्दामा फैसला सुनाउन लागेको हो ।
यता फेक अडियोका उत्पादक तिमिल्सिना तथा प्रसारकहरु कँडेल र ढुंगनाविरुद्ध फौजदारी कसुरमा जिल्ला अदालत काठमाडौंमा यसअघि नै मुद्दा दर्ता भएको छ ।
टिप्पणीहरू