यसकारण लैनो भैंसीको प्रत्याक्रमणमा मारियो बूढो बाघ

यसकारण लैनो भैंसीको प्रत्याक्रमणमा मारियो बूढो बाघ फाेटाे : युवराज थपपलिया, ६ नम्बर वडाध्यक्ष ।

बाघले भैँसी, बाख्रा, चित्तल, हरिण मारेर आफ्नो खाना बनाउँछ । र, यो पनि सत्य हो कि उसले आफूलाई खाना अभावपछि मात्रै अन्य जनावर र यदाकदा मानिसकै हत्या गर्छ । एउटा फेला पार्ने बित्तिकै उसले दर्जनौँ जनावर मारेर खेर फाल्दैन । 

बाघको खाद्य श्रृंखलामा अधिकांश हरिण, मृग, चित्तल पर्छन् । गाउँतिर छिर्दा चाहिँ बाघले मान्छे, खसीबोका, गाई, भैंसीलगायत घरपालुवा जनावर खाइदिन्छ । यी जनावरले बाघको आक्रमणको सामान्य प्रतिकार पनि गर्न सक्दैनन् । 

तर, मकवानपुरको मनहरीमा एउटा अनौठो घटना भएको छ । मनहरी गाउँपालिका ६, प्रतापपुरमा गएराति २ बजेतिर आएको एउटा बाघलाई भैँसीले मारिदिएको छ । गोठमै भैँसीलाई आक्रमण गर्न आएको बाघ भैँसीको प्रतिकारमा मरेको छ । बाघको आक्रमणमा परेको घाइते भैंसी अझै जीवित छ । 

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समिति मनहरीका सचिव कमल राईका अनुसार स्थानीय बलबहादुर राईको गोठमा छिरेको बाघले भैंसीको गर्दनमा आक्रमण गरेको देखिन्छ । केही समयअघि मात्रै ब्याएको र पाडो मरेको पीडामा रहेको लैनो भैँसी अलि छुच्छो स्वभावको थियो । मुन्टो हल्लाएर बाघको प्रतिकार गर्यो । बाघलाई झट्कालेर गर्दनबाट हटाएपछि पुन झम्टन सकेन । भैँसीले बाघलाई लात्तीले हान्ने र झम्टिने गरिरह्यो । यद्यपि, भैँसी दाम्लोको बन्धनबाट मुक्त थिएन । भैँसीको प्रतिकारमा परेको बाघले गोठमै ज्यान फाल्यो । 

यसकारण मर्यो बाघ, भैँसी जिउँदै

खासमा बाघको स्वास्थ्य अवस्था अत्यन्तै दर्दनाक थियो । उ मुश्किलले मात्रै हिँड्नसक्ने स्थितिमा रहेको अनुमान लगाउन सकिन्छ । बाघ टाउको र पछाडिको फिलामा घाउ भएर कीरा परेको अवस्थामा देखिन्छ । बिरामी भएपछि कैयौँ दिनदेखि खान नपाएको बाघ शिकार खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गाउँ पसेको अनुमान छ । भैँसीको प्रतिकारबाट बाघको शरीरमा रहेको घाउहरुमा दख्खल पर्दा बाघ मरेको स्थानीयको बुझाई छ । दाम्लोले बाँधिएको भैँसीको गर्दनमा चोटहरु छन् । समितिका सचिव राईले भैँसी जीवितै रहे पनि बाँच्ने अवस्था नरहेको बताए । 

मुचुल्का उठाएर चितवन लगियो मृत बाघ

चितवन राष्ट्रिय निकुञ्जबाट आएको सुरक्षाकर्मी, प्रशासन तथा मेडिकल टिमले घटनास्थल अवलोकन गरी मुचुल्का उठाएर मृत बाघलाई चितवन लगेको छ । राति नै बाघ मरेको खबरपछि पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज दुबैतर्फका प्रशासन र सेनाका अधिकारीहरु घटनास्थलमा पुगेका थिए । 

मनहरी गाउँपालिका ६ का वडाध्यक्ष युवराज थपलियाले कालगतिले नै मर्ने अवस्थामा रहेको बाघ घरपालुवा भैँसीलाई खान आएको बेला मरेको कुरामा सबै पक्ष सहमत भएपछि सोहीबमोजिम मुचुल्का उठाइएको बताए । यद्यपि, उक्त बाघ केही दिनदेखि नै त्यस क्षेत्रमा हिँडिरहेको बताइन्छ । केही दिनअघि गोठालाहरुलाई बाघले आक्रमण गरेको सुनेपछि हात्ती चढेर बाघको खोजी गरिएकोमा बाघ खोला तरेर निकुञ्जतर्फ नै गएको जानकारी मिलेपछि बाघ खोज्ने र नियन्त्रणमा लिने कार्य स्थगन गरिएको समितिका सचिव राईले सुनाए ।

टिप्पणीहरू