हिजो टुँडिखेलमा ‘मुर्दावाद’ भन्नेहरु आज प्रहरी सामुन्ने आफ्ना कुरा राख्दै

हिजो टुँडिखेलमा ‘मुर्दावाद’ भन्नेहरु आज प्रहरी सामुन्ने आफ्ना कुरा राख्दै
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएको कार्यक्रमलाई बिथोलेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । 

सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा हिजो काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । प्रधानमन्त्री ओली र सभापति देउवाले संयुक्त रुपमा दमाहा बजाएर कार्यक्रमको उद्घाटन गर्नुभयो । 

तर, कार्यक्रममा सहभागी युवाहरुको भीडले एक्कासी प्रधानमन्त्री र सभापतिविरुद्ध चर्का नाराबाजी गर्न थाले । उनीहरुले ‘केपी चोर, देश छोड’, ‘देउवा, मुर्दावाद’ लगायत नारा लगाए । 

नाराबाजीबीच सम्बोधन गर्नुुभएका सभापति देउवाले पनि मञ्चबाटै कार्यक्रम बिथोल्नेहरुलाई तह लगाउने बताउनुभयो । उहाँले रिसाउँदै भन्नुभएको थियो, ‘अर्काको कार्यक्रम बिथोल्नेलाई लाज छैन ? बदमासहरू ! न गौरा खेल्न दिन्छन् । यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन् । यहाँ को–को त्यस्ता छन्, तिनीहरुलाई ठीक पार्नुपर्छ !’

कार्यक्रम बिथोलेको आरोपमा काठमाडौँ प्रहरी परिसरले आज दुई युवकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुमाथि सोधपुछ भइरहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनीहरुको परिचय खुलाइएको छैन ।
 

टिप्पणीहरू