माइभ्यालीका पूर्व अध्यक्ष भ्रष्टाचारमा तानिए

माइभ्यालीका पूर्व अध्यक्ष भ्रष्टाचारमा तानिए

इलाम नगरपालिका–११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा आफुखुशी वनमा कटान गरेको, समूहको लेखा परीक्षण नगराएको तथा बैंकिङ कारोबार नगरी आफुखुशी कारोबार गरेको अख्तियारको आरोप छ । 

अनुसन्धानको क्रममा उनले समूहको निर्णयपुस्तिका तथा चेकबुकलगायत कागजात आफैँसँग राख्ने गरेको, समूहको नाममा रहेको बैंक खाताबाट भुक्तानी लिई वार्षिक कार्ययोजना स्वीकृत नगरी रकम खर्च गरेको र कटान आदेशभन्दा बढीको वन विनाश गरी सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याएको खुल्न आएको दायर मुद्दामा उल्लेख छ । 

ती सबै कार्यमा रीताको पनि संलग्नता पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दर्ता गरिएको जनाइएको छ । कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपैयाँ र रीताविरुद्ध २० लाख ७८ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको छ ।

टिप्पणीहरू