सामूहिक बलात्कारमा परेकी किशोरीलाई पहिले प्रलोभन, पछि धम्की

सामूहिक बलात्कारमा परेकी किशोरीलाई पहिले प्रलोभन, पछि धम्की

रुपन्देहीमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारमा वडाध्यक्षका छोरा र दुई जना कर्मचारीको संलग्नता पाइएको छ । भदौ ५ गते कोटहीमाई गाउँपालिका घर भएकी १८ वर्षीया किशोरी लुम्बिनी घुम्न जाँदा उनीहरुले बलात्कार गरेको पुष्टि भएको छ । 

उक्त गाउँपालिकाका प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजर्कता मुकेश चौधरी र शैलेश पाण्डेले किशोरीलाई प्रलोभनमा सामूहिक करणी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरका अनुसार पाण्डे वडा नम्बर ३ का वडाध्यक्षका छोरा हुन् । 

‘ती किशोरी घुम्नको लागि लुम्बिनी गएकी रहिछन्’, एसपी राठौरले जनआस्थासँग भने, ‘केटाहरुले त्यतिबेला ललाइफकाई करणी गरेको पाइयो ।’ घटनापछि पाण्डेले किशोरीलाई बाबुको राजनीतिक शक्ति देखाउँदै घटना बाहिर नल्याउन धम्क्याएको बताइन्छ । तर किशोरीका परिवारले प्रहरीमा हिजो उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

उजुरी परेसँगै करणी गर्ने तीनै जनालाई नियन्त्रणमा लिइएको छ । राठौरका अनुसार आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

टिप्पणीहरू