महिला भलिबल टोली माल्दिभ्समा खेल्न जाँदै

महिला भलिबल टोली माल्दिभ्समा खेल्न जाँदै

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले माल्दिभ्समा काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने महिला भलिबल टोलीको बिदाई गरेका छन् । 

आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनले प्रहरीको महिला भलिबल टोलीलाई बिदाइ गरेका हुन् । आईजीपी कुँवर प्रहरी खेलकुद समितिका अध्यक्ष समेत हुन् । 

टोलीमा १२ जना खेलाडी र चार जना अफिसियल रहेका छन् । आईजीपी कुँवरले टोलीलाई प्रहरीको मात्र नभई मुलुककै प्रतिनिधित्व गर्न बताए । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र प्रहरी संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई शुभकामना दिए । 

साथै, खेलकुद प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रुपमा जोडिएको चर्चा गर्दै अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीहरुको क्षमतालाई पुष्टि गर्न थप अवसर प्रदान गर्ने बताए । काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप यही भदौ ३० गतेदेखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

टिप्पणीहरू