राप्रपाको चार विभागमा प्रमुख हेरफेर, तीनमा मनोनयन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुख मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीको विधानबमोजिम चार विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गर्नुका साथै तीन विभागमा प्रमुख मनोनयन गरेका हुन् ।
जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङले पाएका छन् । स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान आएका छन् भने राजनीतिक विभागको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पाएका छन् ।
सहायक महामन्त्री विजय खड्कालाई भने पर्यटन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, पार्टीका केन्द्रीय सदस्य उद्धव थापालाई विपद् व्यवस्थापन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।
सूचना प्रविधि विभाग प्रमुखमा उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केदार न्यौपानेलाई मनोनयन गरिएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
टिप्पणीहरू