राजधानीका नयाँ फुटपाथ : ‘हात्ती आयो हात्ती आयो फुस्सा’
-ईश्वरी राई (इशु)
काठमाडौंको पेप्सीकोलाबाट बबरमहल धाउनु दीपक प्रधानको दैनिकी हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी उनी सेतो छडीले बाटो खुट्याउँदै हिँड्छन् । कार्यालय पुग्न उनलाई निकै असहज छ । कहिलेकाहींँ चोट बोकेरै उनी कर्मथलो पुग्छन्, जसको कारण उनी फुटपाथलाई देखाउँछन् ।
उनीजस्ता दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई काठमाडौँ उपत्यकामा हिँड्न निकै सास्ती छ । व्यवस्थित फुटपाथ नभएकाले ‘फरक क्षमता’ भएकाहरु ठोक्किँदै–लड्दै हिँड्नुपर्ने दीपकको गुनासो छ । उनका अनुसार ‘फरक क्षमता’ भएका मानिसहरूको लागि सहज फुटपाथ निर्माण गरिदिनुपर्छ । साँघुरो फुटपाथबाट पैदलयात्रा गर्दा ठोक्किएर शरीरमा चोट लागेको अनुभव उनीसँग छ । उपत्यकाभित्र मात्र होइन्, बाहिर पनि उनीहरुले समस्या झेल्नुपरेको छ ।
‘साँघुरो फुटपाथमा हिँड्दा कैयौँपटक शरीरमा चोट पनि लागेको छ । हाम्रो दुःख कसले बुझिदिने ?’,दीपक प्रश्न गर्छन्,‘काठमाडौँका मेयर बालेनसाब आफैंपनि इन्जिनियर हुनुहुन्छ । जनताको समस्या बुझेको खोई ?’ मेयर बालेनले ‘डोजर’ चलाएर घरहरू भत्काउने काम मात्र नभई अपाङ्गताहरूका लागि फुटपाथ पनि बनाउनुपर्ने उनको भनाइ छ ।
‘बालेनसाबले हाम्रो फुटपाथ बनाएको खोई त !’, उनी सोध्छन् । काठमाडौँ उपत्यकामा कहीँ साँघुरो त कतै फराकिला फुटपाथहरू छन् । तर, फराकिला देखिएका फुटपाथहरू पनि ‘अपाङ्गता मैत्री’ नभएको उनको जिकिर छ ।
हेर्दा चौंडा देखिएका फुटपाथमा पनि अपाङ्गता भएका मानिसलाई हिँड्न असहज भएको दीपकको अनुभव छ । फुटपाथमा भएको अस्तव्यस्त पार्किङ, जथाभावी ठडिएको बिजुलीका खम्बा र ट्रान्सफर्मरहरूको कारण हिँड्दा ठेस लाग्ने गरेको उनले दुःखेसो पोखे ।
‘एकदिन राम्रोसँग हिँडेको सडक अर्को दिन भत्किएको हुन्छ । निर्माणको काम अस्तव्यस्त हुँदा लडिन्छ, घाउचोट लाग्छ’, उनी भन्छन्,‘अपाङ्गमैत्री फुटपाथ नहुँदा पनि दुःख झेल्नुपर्दो रहेछ ।’ दृष्टिविहीनका लागि फुटपाथमा ‘टेक टायल’को व्यवस्था गरिएको छ । त्योपनि व्यवस्थित नभएको उनको गुनासो छ । ‘हामीलाई हिँड्न सजिलो होस् भनेर यल्लो पाथ (पहेंलो बाटो) बनाइएको छ तर व्यवस्थित छैन’,आफू हिँडिरहेको बाटो देखाउँदै उनले भने,‘हामीले चढ्ने गरेको पुलमा पनि यल्लो पाथ बनाउनुपर्छ । त्यो नहुँदा हामीले समस्या झेल्नुपरिरहेको छ ।’
दिनमा दुई–चार पटकसम्म पैदलयात्रा गर्ने दीपकले फुटपाथको कारण धेरै सास्ती भोगिरहेका छन् । तर, उनलाई सबैभन्दा धेरै तनाव नागरिक उड्डयन प्राधिकरण बाहिरको फुटपाथले दिइरहेको छ । ‘हाम्रो समस्या धेरै छन् तर अहिलेको लागि ठूलो समस्या भनेको मेरो कार्यालय बाहिरको फुटपाथ हो’,आफ्नो दुःख सुनाउँदै उनले भने,‘फुटपाथ र सडकको ग्याप धेरै छ । होशियारी नअपनाउँदा खुट्टा भाँचिने सम्भावना धेरै छ । त्यसैले यो समस्या चाँडै हटोस् भन्ने चाहन्छु ।’
एक दशकदेखि पत्रकारितामा सक्रिय जीवन बानियाँको अनुभव पनि उस्तै छ । उनलाई पनि सडकपेटीमा सेतो लठ्ठी टेकेर हिँड्न समस्या भएको छ । दैनिक ‘रिर्पोटिङ’ मा निस्कँदा खाल्डो सडकका कारण आफूले यातना झेल्नुपरेको उनको भोगाइ छ । दृष्टिविहीनहरूलाई लक्षित गरेर बनाइएका ‘टेक टायल’ पनि सुव्यवस्थित नभएको पत्रकार बानियाँको गुनासो छ । ‘हाम्रा लागि बनाइएको टेक टायल छ तर त्यसमा पनि बीचमा रुखहरू छ या त बिजुलीको पोलहरू छ । हामी त्यसैलाई पछ्याउँदै हिँड्ने हो भने रुख वा पोलमा ठोकिन्छौँ’,उनले दुःखेसो पोखे ।
त्यसैगरी जथाभावी राखिएको बोर्डको कारण आफूजस्ता धेरै दृष्टिविहीनहरू घाइते भएको उनले सुनाए । केही दिनअघि भृकुटीमण्डप जाँदा आफूले भोगेको घटना सुनाउँदै बानियाँले भने,‘म हिँड्दै थिएँ । त्यो के थियो मलाई थाहा छैन । तर मेरो खुट्टामा अल्झियो । धन्न मेरो पछाडि मान्छे आइरहनुभएको रहेछ । उहाँले नै मलाई बचाउनुभयो । होइन भने त्यसले मेरो टाउको फुट्ने पक्का थियो ।’
सडकका पेटीमा बनेका खाल्डोहरूको कारण दृष्टिविहीन, अपाङ्गतालाई मात्र नभई बालबालिका र वृद्धवृद्धाले पनि दुःख भोगिरहेको उनको बुझाई छ । ‘फुटपाथ भनेको सर्वसाधारणको सहजताका लागि बनाइएको हो तर हामीले त्यो सुविधा पाएका छैनौँ’,उनी भन्छन्,‘यो देशमा बलिया मात्र होइन् हामीजस्ता मानिसहरू पनि बस्छौँ ।’ गतिलो फुटपाथ नहुँदा आफूले धेरै पटक चोट सहनुपरेको उनले बताए । ‘हामीलाई चाहिएको कम्फरटेबल साइडवाक हो’,उनी सरकारलाई भन्न चाहन्छन्, ‘फुटपाथ अपाङ्गले हिँड्ने बाटो पनि हो ।’
फरक क्षमता भएका यी सडकका प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौँका फुटपाथमा हिँड्ने वा हिँड्न खोज्ने जोकोहीले पछिल्लो समय एउटै पीडा भोग्नुपर्छ, सडक र सवारीले च्यापिने फुटपाथको यात्रा । हिँड्नै नमिल्ने अनि साँघुरा फुटपाथमा ठेलमठेल गर्दै हिँड्नु काठमाडौँवासीको नियति हो । काठमाडौँ शहर आफैंमा साँघुरो शहर हो । चक्रपथ पनि अब त साँघुरो भइसकेको छ । साँघुरो शहर, साँघुरा सडक । साँघुरा घरहरू । व्यापारिक भवनहरू । खचाखच मोटर गाडी । त्यसैले खुम्चाएको एकबित्ते फुटपाथमा पनि पैदलयात्रुलाई हिँड्न सजिलो छैन ।
कतै हिँड्दाहिँड्दै सकिने फुटपाथ छन्, कतै सडक छन् तर फुटपाथ छैन । कतै भएका फुटपाथहरूमा पनि बिजुलीका खम्बाहरू ठोक्किन पुग्छन् । ‘सडक त गाडी र मोटरसाइकल चलाउनेहरूकै सम्पत्तिजस्तो गर्छन् । हामी हिँड्ने बाटै छैन,’ हरेक दिन पाँच किलोमिटर सडकमा हिँडेरै जागिर भ्याइरहेकी सरिता केसी भन्छिन्, ‘कतै–कतै फुटपाथ छन् त्योपनि पूरै हिँड्न मिल्दैन । सडकमा लागेका पहेंलो घेराभित्र हिँड्दा पनि कारवालाहरूले आँखा तरेर हेर्छन् ।’
टिप्पणीहरू