मोटरसाइकल 'मोडिफाई' गर्नेहरु फन्दामा

मोटरसाइकल 'मोडिफाई' गर्नेहरु फन्दामा

कास्कीमा मोडिफाई (स्वरुप परिवर्तन) गरिएका तीन दर्जन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटिएको प्रहरी टोलीले ३५ थान त्यस्ता मोटरसाइकल समातेको हो । 

पछिल्लो समय कास्की प्रहरीले मोडिफाई गरी ठूलो आवाजमा हु्इँकिने मोटरसाइकलमाथि कारबाही गर्दै आएको छ । सोही क्रममा बुधबार र बिहीबार सवारी चेकजाँच गर्दा चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीले कसैले त्यस्ता मोटरसाइकल चलाएको देखेमा १०० वा १०३ मा सम्पर्क गरी जानकारी गराउन पनि आग्रह गरेको छ । 

कास्कीमा मोटरसाइकल मोडिफाई गरी समाजमा होहल्ला मच्याउने तथा ध्वनी प्रदूषण गर्ने क्रम बढ्दै गएको छ । 

स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गरेमा वा ध्वनी प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । 

साथै, यस्तो कार्यमा संलग्न सवारीधनी र वर्कशप सञ्चालकलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने गरिएको छ ।
 

टिप्पणीहरू